वराहक्षेत्र/ चाडपर्वको अवसरमा उपभोक्ताको अधिकार संरक्षणका लागि वराहक्षेत्र नगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ। नियमित अभियान अन्तर्गत नगर क्षेत्रका विभिन्न बजारमा अनुगमन गर्दै म्याद नाघेका सामग्री नष्ट र नियम उल्लङ्घन गर्ने व्यापारीलाई जरिमाना गरिएको हो।
नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख मातृका तिवारीका अनुसार बजारमा गुणस्तरीय वस्तु सुनिश्चितता, मूल्यको एकरूपता, कानुनी प्रमाणपत्र, र ४० माइक्रोनभन्दा कम प्लास्टिकका झोलाको नियन्त्रणलाई प्राथमिकता दिइएको छ।
यसै क्रममा मंगलबार वडा नं. ९ राजावास बजार र वडा नं. १० प्रकाशपुर बजारका होटल, किराना, फलफूल, मिठाई र हाडवायर पसलमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा थुप्रै म्याद नाघेका चिसा पेय पदार्थ फेला परेका थिए, जसलाई तत्काल नष्ट गरिएको नगरपालिकाले जनाएको छ।
अनुगमन टोलीले दर्ता प्रक्रिया, सरसफाइ र किचन क्षेत्रको पनि निरीक्षण गरेको थियो। म्याद नाघेका वस्तु बिक्रीका लागि राख्ने व्यापारीहरूलाई सचेत गराउँदै जरिमाना गरिएको छ।
नगर उपप्रमुख नन्दकुमारी सुनुवारको नेतृत्वमा भएको टोलीमा आर्थिक विकास शाखा प्रमुख तिवारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका खाद्य अनुसन्धान अधिकृत उज्वल कोईरला, उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका प्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरी र पत्रकारहरूको सहभागिता थियो।
उपप्रमुख सुनुवारका अनुसार,
“उपभोक्ताको स्वास्थ्य र हक संरक्षण नगरपालिकाको प्राथमिक दायित्व हो। बजारमा गुणस्तरीय वस्तुको सुनिश्चितता नभएसम्म अनुगमन अभियान जारी रहनेछ,”
भनेर उनले जनाइन्।