धरान/ हमासले अपहरण गरेका नेपाली युवा विपिन जोशी अब जीवित नरहेको कुरा इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले औपचारिक रूपमा घोषणा गरेको छ।
इजरायलको स्थानीय समय अनुसार सोमबार बिहान साढे ७ बजे आइडिएफका एक वरिष्ठ अधिकारीले यो जानकारी दिएका हुन्। सो सूचना इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई भिडियो कन्फरेन्समार्फत दिइएको हो।
राजदूत पण्डितका अनुसार, “आइडिएफले हामी र विपिनको परिवारसँग भिडियो संवाद गर्दै ‘हिज इज नो मोर’ भन्ने औपचारिक जानकारी गरायो। परिवारकै सामु उक्त घोषणा गरिएको हो,” उनले भने।
भिडियो संवादमा विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी अमेरिकाबाट, साथै परिवारका अन्य सदस्य किशोर जोशी, राजदूत पण्डित र आइडिएफका उच्च अधिकारीहरू सहभागी थिए।
आइडिएफका अधिकारीहरूले हमासले केही जीवित बन्धकहरूलाई छिट्टै मुक्त गर्ने तयारी गरिरहेको र केही मृतकको शव अझै फेला नपरेको जानकारी पनि दिएका छन्।
तर, यसबारे नेपाल सरकार भने अझै सावधानीपूर्वक प्रतिक्रिया दिइरहेको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले आइडिएफको जानकारीलाई प्रारम्भिक आकलन मात्रै भएको बताएका छन्।
उनका अनुसार, “आइडिएफको पनि आकलन मात्र हो। हामी अझै पनि विपिन सकुशल रिहा हुनेछन् भन्नेमा आशावादी छौं। विगतमा पनि आइडिएफका विवरणमा फरक आएको थियो।”