सुनसरी/सुनसरीको गढी गाउँपालिका–४ छिटाहा स्थित नहर नजिक प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहवी र छिटाहाबाट संयुक्त रूपमा खटिएको टोलीले आइतबार दिउँसो करिब ३ बजे स.२ प.७१४६ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा सो मात्रा लागू औषध फेला पारेको हो।
मोटरसाइकलमा राखिएको एउटा कालो झोला र अर्को बोरामा प्याक गरिएको अवस्थामा २६ किलोग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ।
सो क्रममा मोटरसाइकल चालक धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १६ वर्षीय अतिस राई र पछाडिको सिटमा सवार १९ वर्षीय विशाल राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि लागू औषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।