तस्बिर झापाकाे चारआली स्थीत पाउ पाथीभरा देवी
झापा/आज बडादसैँ अन्तर्गत नवरात्रको सातौँ दिन अर्थात् सप्तमीमा शक्तिस्वरूपा कालरात्री देवीको पूजा–आराधना हुँदैछ।
कालो वर्णकी, तीन नेत्र भएकी, चार हातमा तरवार, मसाल, वरमुद्रा र अभयमुद्रा धारण गरेकी तथा गधा वाहन चढेकी देवी कालरात्रीलाई दुर्जन शक्तिको नाशकर्त्री मानिन्छ। उनको स्वरूप भयानक देखिए पनि भक्तजनलाई शुभफल दिने भएकाले शङ्करी नामले पनि चिनिन्छन्।
मान्यतानुसार, कालरात्रीको स्मरण मात्र गर्दा दानव, दैत्य, राक्षस र भूतप्रेत भाग्छन्। भक्तलाई साहस, धैर्य र आत्मविश्वास दिलाउने तथा भय नष्ट गर्ने शक्तिकी रुपमा कालरात्रीलाई पूजिन्छ। जीवनमा आउने ठूला संकट टार्न पनि आजको दिनको आराधनालाई विशेष महत्त्व दिइन्छ।
यस दिन सख्खर चढाउने र गरिबलाई दान गर्ने परम्परा रहेको छ। नवपत्रिका (केरा, हलेदो, बेल, अनार, अशोक, काली बेसार, जयन्ती, मानेकर्कलो र धान) अर्पण गरी विशेष पूजा गरिन्छ। रातो वा नीलो वस्त्र, रातो फूल र नैवेद्य चढाउने चलन छ।
यसैदिन विद्या र सङ्गीतकी देवी सरस्वतीको पनि पूजा गरिन्छ। साथै, ऐतिहासिक गोरखा दरबारबाट काठमाडौं दरबारमा फूलपाती ल्याउने परम्परा पनि आजकै दिनसँग सम्बन्धित छ।