धरान/ विजया दशमी, दिपावली, नेपाल संवत् ११४६ तथा छठ पर्वको अवसरमा धरान मदिरा व्यवसायी संघले शुक्रबार साँझ धरानमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् । सोही कार्यक्रममा व्यवसायीले वर्तमान बजारको सङ्कटबारे चिन्तासमेत व्यक्त गरे ।
नेपाल मदिरा व्यवसायी महासङ्घका कोशी प्रदेश अध्यक्ष नवीन तामाङले खुद्रा तथा थोक व्यवसायी पलायन हुँदै गइरहेको बताए । उनले व्यवसायी पलायनका कारण पहिल्याउनु पर्ने बताए । मुलुकमा जारी नयाँ किसिमको आन्दोलनले व्यवसायी सशङ्कित, त्रसित र भयभीत भएको धरानका व्यवसायीले बताएका हुन् ।
जेनजी आन्दोलनका कारण उद्योग, व्यवसाय गुमाएका उद्योगी व्यवसायीलाई सान्त्वना दिँदै सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल श्रेष्ठले आन्दोलनका कारण सङ्कटमा परेका व्यवसायीको क्षतिपूर्तिका लागि पहल गर्ने बताए । उनले व्यवसायको बिमा गर्न सबै व्यवसायीलाई आग्रह गरे ।
व्यवसायी मनोज श्रेष्ठलेले हाल मदिरा व्यवसायीहरुमा अस्वस्थ प्रतिस्पर्धाले बजार बिग्रेको बताए । उनले व्यवसायीमा पारस्परिक सम्बन्ध सौहार्द रहनुपर्नेमा जोड दिए । पाँच(सात जना वितरक र छ(सात जना थोक व्यवसायी भएको अवस्थादेखि मदिरा व्यवसायीको एकता कायम रहे पनि हाल व्यवसायीले एकअर्काको खुट्टा तान्ने काम गरेको बताए ।
संघका कार्यवाहक अध्यक्ष प्रदीपकुमार श्रेष्ठको सभाध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासङ्घका कोशी प्रदेश अध्यक्ष प्रमुख अतिथि नवीन तामाङ रहेका थिए । विशिष्ट अतिथिहरूमा सुनसरी उद्योग वाणिज्य सङघका अध्यक्ष गोपाल श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, रोटरी क्लब धरानका अध्यक्ष ईश्वर ताम्राकारलगायतको उपस्थिति थियो ।
औपचारिक कार्यक्रमको सञ्चालन विजय मानन्धर गरेका थिए भने स्वागत मन्तव्य कार्यवाहक सचिव सन्तोष कार्कीले गरेका थिए । सुनसरी जिल्ला प्रशासन कार्यालयमा २०७० सालमा दर्ता भई व्यवसायीलाई संघले सङ्गठित गर्दै आएको संघका कार्यवाहक सचिव कार्कीले बताए । संघमा आवद्ध व्यवसायीले आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।
