धरान/ नेपालका चार शक्तिपीठमध्ये एक मानिने धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरस्थित दन्तकाली शक्तिपीठमा यस वर्षको नवरात्रि पूजा विधिवत रूपमा सुरु भएको छ ।
घटस्थापनासँगै जमरा राखी दुर्गामाताको पूजाआजा आरम्भ भइसकेको हो ।
पौराणिक ग्रन्थका अनुसार शिवजीले सतिदेवीलाई बोकेर हिँड्दा दाँत पतन भएको स्थानका रूपमा दन्तकालीलाई मानिन्छ । यही कारण यो शक्तिपीठप्रति श्रद्धालु भक्तजनको आस्था बढ्दो छ । दशैंको अवसरमा नेपालका विभिन्न भाग र भारतसम्मका भक्तजन यहाँ पूजाआजा गर्न आउने गरेका छन् ।
यस वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले केही असर पारे पनि दन्तकालीमा भीडभाड बढ्न सुरु भइसकेको स्थानीय अग्रज श्यामकुमार श्रेष्ठले बताए । उनका अनुसार यो मन्दिर धरानको मात्रै होइन, नेपालकै ऐतिहासिक र आस्थाको केन्द्र हो ।
मन्दिरका पूजारी कमल भट्टराईका अनुसार नवरात्रिभरि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुशमाण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ । मंगलबार दोस्रो दिन ब्रह्मचारिणी माताको पूजाआजा भइरहेको छ ।
भट्टराईका अनुसार, ब्रह्म शब्दको अर्थ तपस्या हो, यसैले तपको आराधना गर्ने देवीको रूपमा यिनलाई ब्रह्मचारिणी भनिन्छ ।
यिनको पूजाले तप, त्याग, संयम र सदाचारमा वृद्धि हुन्छ भन्ने विश्वास गरिन्छ ।दन्तकाली मन्दिरको महिमा बढ्दै गएसँगै यहाँ दशैं अवधिभर पूजाआजा र बली दिनेहरूको भीड लाग्ने गर्छ ।
धरानमा फूलपातिको दिन फूलपाति भित्र्याएपछि मात्र स्थानीयले घरमा फूलपाति राख्ने चलन पनि छ ।