जलेर खरानी भएको नगरपालिका सरसफाई
- भदौ ३१, २०८२
- कोशीपत्र/संवाददाता
सुन्दरहरैंचा/ गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अराजक तत्वले आगजनी र तोडफोडका कारण क्षति भएको मोरङको सुन्दरहरैँचा नगरपालिकाको कार्यालयमा मंगलबार नगरवासी, विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाज, स्थानीय पत्रकार लगायतकाे सहभागितामा सरसफाइ गरिएको छ।
आन्दोलनका नाममा गतिविधि गर्दै भवनमा आगाे लगाउदा राज्यको सम्पति, महत्त्वपूर्ण दस्तावेज, औसधि, कागजात जलेर नष्ट हुनुका साथै भवन पनि खरानी भएको छ ।
आगजनीका कारण नगरपालिकामा महत्वपूर्ण कागजात, दस्तावेज र सामग्री लगायत जलेर नस्ट भएकाे थियाे । साथै,आगजनी र तोडफोडका क्रममा नगर कार्यपालिकाको कार्यालयको शाखा / उप-शाखा/इकाईमा रहेका कम्प्युटर, ल्यापटप, ट्याब, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर लुटपाट भएको बताएका छन्।
यस्तै टिभि, सिसिटिभि, कुर्सी, बायोमेट्रिक डिभाइस, नेटवर्क स्विच, मोबाइल, क्यामरा, मनिटर, स्ट्रिट लाइट, साउण्ड सिस्टम, कार्यालयको महत्वपूर्ण कागजपत्रहरु लगायतका अन्य सामग्रीहरु नगरपालिका परिसरबाट लुटपाट/चोरी भएकोले कोही कसैले उक्त सामग्रीहरु भेटेको भए नगरपालिकामा बुझाई सहयोग गरिदिन अनुरोध गरेका छन् ।
लुटिएको सामग्रीहरुको सम्बन्धमा कुनै जानकारी भएमा नगरपालिकाले उपलब्ध नम्बरमा वा नजिकको सुरक्षा निकायमा जानकारी गराई उल्लिखित सामग्रीहरुको पुनः प्राप्तिको अभियानमा सहयोग गरिदिन आम नागरिक समुदायमा नगरपालिकाले अनुरोध गरेको ।
साथै उक्त सामानहरु कहीँ कतै फेला परेमा वा प्रयोग भएको पाइएमा कानून बमोजिम कारबाही हुने चेतावनी समेत दिईसकेको छ।