लुटपाटको सामग्री फ्रिता नगरे कानुन बमोजिम कारबाही गर्ने नगरपालिकाको चेतावनी
- भदौ ३०, २०८२
- कोशीपत्र/संवाददाता
सुन्दरहरैंचा/ मोरङको सुन्दरहरैंचा नगरपालिकाको लुटपाटको सामग्री फ्रिता नगरे चेतावनी दिएको छ।
प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार न्यौपानेले विज्ञप्ति जारी गर्दै भाद्र २४ गतेका दिन आगजनी र तोडफोडका क्रममा सुन्दरहरैंचा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको शाखा / उप-शाखा/इकाईमा रहेका कम्प्युटर, ल्यापटप, ट्याब, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर लुटपाट भएको बताएका छन्।
यस्तै टिभि, सिसिटिभि, कुर्सी, बायोमेट्रिक डिभाइस, नेटवर्क स्विच, मोबाइल, क्यामरा, मनिटर, स्ट्रिट लाइट, साउण्ड सिस्टम, कार्यालयको महत्वपूर्ण कागजपत्रहरु लगायतका अन्य सामग्रीहरु नगरपालिका परिसरबाट लुटपाट/चोरी भएकोले कोही कसैले उक्त सामग्रीहरु भेटेको भए सुन्दरहरैंचा नगरपालिकामा बुझाई सहयोग गरिदिन अनुरोध गरेका छन् ।
लुटिएको सामग्रीहरुको सम्बन्धमा कुनै जानकारी भएमा देहायका सम्पर्क नम्बरहरुमा (जानकारी दिने व्यक्तिले चाहेमा निजको परिचय गोप्य राखिनेछ) वा नजिकको सुरक्षा निकायमा जानकारी गराई उल्लिखित सामग्रीहरुको पुनः प्राप्तिको अभियानमा सहयोग गरिदिनहुन आम नागरिक समुदायमा नगरपालिकाले अनुरोध गरेको । साथै उक्त सामानहरु कहीँ कतै फेला परेमा वा प्रयोग भएको पाइएमा कानून बमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ ।
तोडफोड कार्यमा संलग्न व्यक्तिहरुको फोटो, भिडियो सार्वजानिक गर्न माग
नगरपालिकाले आगजनी तथा तोडफोड कार्यमा संलग्न व्यक्तिहरुको फोटो, भिडियो, सामाजिक संजालको स्टाटस, कमेन्ट र सेयर सार्वजनिक गर्ने गर्न माग गरेको छ।
नगरपालिकाको कार्यालयमा भदौ २४ गतेका दिन तोडफोड र आगजनीमा संलग्न रहेका तथा सो कार्य गर्न प्रोत्साहित गर्ने / उक्साउने व्यक्ति/समूहहरुको पहिचान गरी कानूनी दायरामा ल्याउन तथा नगरबासीज्यूहरु / सम्पूर्ण व्यक्तिहरुलाई उक्त दिनको घटनामा संलग्न रहेका फोटो, भिडियो,सामाजिक सञ्जालको स्टाटस, कमेन्ट र सेयर नगरपालिकाको आधिकारिक फेसबुक पेज मार्फत सार्वजनिक गर्न माग गरेको छ।
आफूसँग रहेका फोटो, भिडियो नगरपालिकाले उपलब्ध गराएको इमेल
[email protected] वा व्हाट्सएप ९८५२०१६९६९ मा पठाउन पनि अनुरोध गरेको छ। जानकारी दिने व्यक्तिको परिचय गोप्य राखिने नगरपालिकाले जनाएको छ।