धरान/ धरान उपमहानगरपालिका–१३ मा जेनजी आन्दोलनपछिको असुरक्षा अवस्थालाई ध्यानमा राख्दै स्थानीय बासिन्दाले आफ्नो टोलको सुरक्षाका लागि ‘फुस्रे समाज’को अगुवाइमा टोल सुरक्षा समिति गठन गरेका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देखिएको अराजक गतिविधिहरू—व्यक्तिलाई लक्षित गरी घर तोडफोड, सम्पत्ति लुटपाट तथा आगजनी—बढ्दै गएपछि वडावासी स्वयं सडकमा उत्रिएर सुरक्षाको जिम्मा लिन अग्रसर भएका हुन् ।
फुस्रे समाजका अध्यक्ष महेन्द्र प्रधानको संयोजकत्वमा गठन गरिएको सुरक्षा समितिले टोल टोलमा संयोजक तोकेको छ । समितिमा सर्दुलाइनबाट अनिल साही, फुस्रे चोकबाट जयकुमार श्रेष्ठ, जनजागृति चोकबाट सञ्जिव श्रेष्ठ र सूर्य मार्गबाट उदय श्रेष्ठ संयोजकको जिम्मेवारीमा रहेका छन् ।
संयोजकहरूमार्फत टोलमा कुनै पनि अप्रिय घटना भएमा सूचना एक अर्काबीच सञ्जालका माध्यमबाट तिव्र रुपमा फैलाइने र आवश्यक कदम चालिने बताइएको छ ।
वडाध्यक्ष नेत्रप्रसाद काफ्लेको सक्रियतामा गठन गरिएको समितिको औपचारिक कार्यक्रममा बोल्दै उनले भने, “जेनजी आन्दोलनको आडमा अराजक समूहले टोलटोलमा चोरी, तोडफोड, आगजनीजस्ता घटनालाई बढाएका छन्। प्रहरी प्रशासनबाट तत्काल सुरक्षा प्रत्याभूति दिन नसकिएको अवस्था हुँदा स्थानीयले आफै अग्रसर भएर यस्तो समिति गठन गर्नु समय सान्दर्भिक र स्वागतयोग्य छ ।“
दशैंको समय नजिकिंदै जाँदा हुनसक्ने सम्भावित घटनाबाट सुरक्षाको प्रत्याभूति गर्न समिति गठन गरिएको समितिका सदस्यहरूले बताएका छन ्। उनीहरूले यस्तो कठिन परिस्थितिमा समुदाय स्तरबाट सुरु गरिएको सुरक्षा अभियानलाई निरन्तरता दिइने समेत बताएका छन् ।
कार्यक्रमको अन्त्यमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको थियो ।