काठमाडौँ/ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोअनुसार आश्विन कृष्ण प्रतिपदादेखि आरम्भ भई आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनसम्म चल्ने यो अवधिभर दिवंगत पितृप्रति श्रद्धा अर्पण गरिन्छ।
यस क्रममा प्रत्येक तिथिमा तर्पण, सिदादान र पिण्डदान गरी दिवंगत पितृलाई सम्झने धार्मिक परम्परा रहेको छ। वैदिक सनातन शास्त्रीय परम्पराअनुसार, कुनै ठूलो चाडपर्व, यज्ञ–यागादि वा महत्वपूर्ण कार्य अघि पितृलाई श्रद्धा–भक्तिसहित सम्झनु अनिवार्य मानिन्छ।
शास्त्रीय विश्वासअनुसार सोह्रश्राद्धको समयमा पितृहरूले सन्तानबाट कृतज्ञता र सम्मानको प्रतीक्षा गरिरहेका हुन्छन्। यस अवसरमा गरिएको तर्पण र पिण्डदानले पितृ ऋण तिर्ने, आफ्नो दायित्व पूरा गर्ने र पितृको आशीर्वाद प्राप्त हुने धार्मिक आस्था रहिआएको छ।