धरान/धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधारका लागि आइतबार उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठले सञ्चारकर्मीहरूसँग विशेष छलफल कार्यक्रम गर्नुभयो।
प्रतिष्ठानको उपकुलपतिको बैठक हलमा सम्पन्न कार्यक्रममा धरानका अग्रजदेखि युवा पत्रकारहरूले बीपीमा देखिएका समस्या, अनियमितता र भ्रष्टाचारबारे खुलेर सुझाव राखे।
कार्यक्रममा पत्रकार मणिराज भट्टराईले एउटै पदमा लामो समयदेखि बसेका व्यक्तिका कारण संस्थाभित्र भ्रष्टाचार मौलाएको गम्भीर समस्या औंल्याए।
अग्रज पत्रकार हर्ष सुब्बाले शैक्षिक कोटा घटेको विषयमा प्रश्न उठाउँदै यसको पुनःवृद्धिका लागि के पहल भएको छ भन्नेबारे जानकारी माग गरे।
नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले सामान्य समस्या समाधानमै ढिलाइ हुनु र बीपीमा उपचार शुल्क अन्य अस्पतालभन्दा महँगो हुनु गम्भीर समस्या भएको बताए।
उहाँले अत्यावश्यक औषधि तथा सामग्रीमै अभाव देखिएको उल्लेख गर्दै तत्काल सुधार आवश्यक रहेको औंल्याए।
फोटो पत्रकार विकास चाम्लिङ राईले कार्यालय समयमा चिकित्सकहरू चिया पसलमै देखिने गरेको भन्दै समयपालनाको अभावप्रति आक्रोश व्यक्त गरे।
अन्य सञ्चारकर्मीहरूले समेत बढ्दो अस्तव्यस्तता, सेवा प्रवाहमा अनियमितता र प्रशासनिक कमजोरीबारे टिप्पणी गर्दै तत्काल सुधारको माग गरे।
सुझाव सुनेपछि उपकुलपति प्रा.डा. श्रेष्ठले सञ्चारकर्मीहरूको सुझावलाई अत्यन्तै महत्वपूर्ण बताउँदै प्रतिष्ठान सुधारका लागि सुझाव समिति गठन गरिएको जानकारी दिनुभयो।
उहाँले “समस्याहरूको पहिचान गरी सुधार अघि बढाइन्छ” भन्दै नगर अस्पतालको आवश्यकता औंल्याउँदै बीपी प्राविधिक सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाउनुभयो।
फोहोर व्यवस्थापनदेखि सघन उपचार कक्षसम्म सुधारका काम अघि बढाइएको जानकारी दिँदै उहाँले यस्ता छलफलहरू नियमित गरिने र सञ्चारकर्मीहरूको निगरानीले बीपी सुधार अभियानलाई टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा सञ्चारकर्मीहरूले उपकुलपति नियुक्त भएकोमा डा. श्रेष्ठलाई खादा ओढाएर बधाई दिए।