धरान/ मदन भण्डारी राजमार्गअन्तर्गत धरान–६ पानवारीमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ भने आमा सहित तीन जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रिपर (को १ ख ८७४५) ले सोही दिशातर्फ गइरहेको स्कुटर (को ३९ प २७४) लाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
स्कुटरमा सवार ११ वर्षीया सुवास्ना बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सुवास्नाकी आमा विना बुढाथोकी, ६ वर्षीया बहिनी नुना र छिमेकीकी छोरी सुस्मिता घाइते भएका छन् ।
उनीहरूको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आकस्मिक कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार स्कुल बिदा भएपछि विना आफ्ना दुई छोरी र छिमेकीको छोरीलाई स्कुटरमा लिएर घर फर्कदै गर्दा चौकीडाँडास्थित मोडमा दुर्घटना भएको स्थानीयले बताए ।
स्कुटर दायाँ मोडिन खोज्दा तीब्र गतिमा आएको ट्रिपरले ठक्कर दिएको वडाध्यक्ष भुपेन्द्र भट्टराईले जानकारी दिए ।
घटनापश्चात आक्रोशित स्थानीयले ट्रिपरमा आगजनी गर्ने प्रयास गरेका थिए । तर प्रहरीको हस्तक्षेपपछि ठूलो अप्रिय घटना हुन पाएन । ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनापछि स्थानीयले शव उठाउन पनि अस्वीकार गरेका थिए । वडाका जनप्रतिनिधि, प्रहरी र ट्रिपरधनीबीच छलफलपछि मात्र शव उठाइएको थियो ।