रास्वपा उम्मेदवार डा.लेखजंगले सार्वजनिक गरे डिभोर्स भैसकेको कागज

  • भदौ १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

बुटवल/  रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.लेखजंग थापाले पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको प्रमाणसहितको कागजात सार्वजनिक गरेका छन् ।

थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलासमा सम्बन्धविच्छेद गरी मिलापत्र भएको कागज सार्वजनिक गरेका हुन् ।

रास्वपाबाट ९ जना आकांक्षीमध्ये उम्मेदवार बनेपछि उनीमाथि बहुविवाहको आरोप सार्वजनिक भएका थिए । त्यसपछि फेसबुकमार्फत् कागजात देखाउँदै उनले लेखेका छन्, ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक विवाह गरेको कुरा सत्य हो ।

तर, त्यति नै सत्य पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद भएको हो । र, त्योभन्दा ठूलो सत्य सम्बन्धविच्छेद भएकी श्रीमतीसँग जन्मिएको सन्तान मेरो छ, जसको म आज पनि बाबा हुँ ।’

थापाकी पहिलो श्रीमती सुलोचना घिमिरे बिएससी नर्सिङ गरेकी हुन् र हाल भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत छिन् । कान्छी श्रीमती नुमा शर्मा भने काठमाडौंमा बस्छिन् ।

सिद्धार्थनगर नगरपालिका–९ अञ्चलपुरका थापालाई रास्वपाले गत शुक्रबार र शनिबार सञ्चालन गरेको प्राइमरी इलेक्सन र अन्य प्रक्रियाका आधारमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । उनले २०८० असार ७ गते पार्टी सदस्यताको आवेदन दिएका थिए, तर प्राविधिक कारण उनको सदस्यता २०८२ मा मात्र प्रमाणित भएको पार्टीले जनाएको छ ।

यसअघि उनी २०७९ सालको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसदको सूचीमा समावेश भएका थिए ।

यस्तो छ लेखजंगको स्टाटस

रूपन्देही- ३ मा ९६ वर्षकी मेरी‌ बुढी आमा बस्नुहुन्छ, पहिलो फ्लाइट लिएर आमालाई आफू उम्मेदवार भएको खुसी बाँडेर आशीर्वाद लिने मन थियो।

सोचेको थिएँ एउटा चिकित्सकका रूपमा मैले गर्न खोजेका सत्कर्मका कुराहरू हेडलाइन बन्छन् होला र म आमालाई त्यही कुराहरु देखाएर राजनीति अब सङ्लो हुन्छ है, परिवर्तनको छनक हजुरले आफ्नै पालामा देख्नुहुन्छ है भनेर विश्वास दिलाउँछु।

खैर जिन्दगी सोचे जस्तै कहाँ हुन्छ‌ र मलाई आशीर्वाद दिन भैरहवामा मेरी आमा मलाई कुर्दै गर्दा म काठमाडौँमा मेरो निजी जीवनमाथि प्रश्न गर्नेहरू लाई उत्तर दिँदैछु।

प्रश्न गर्ने सबैजनालाई हेक्का होस्, मेरो पारिवारिक जीवन न गैरकानुनी छ, न समस्यापूर्ण। म व्यक्ति लेखजङ थापामाथि आक्रमण भएको भए सायद म जवाफ पनि दिन्थिन होला। तर मैले बुझेको छु यो आक्रमण म‌ माथि होइन ,यो बेथिति र विसङ्गतिमा रमाउनेहरू बाट समाजलाई कञ्चन बनाउन सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी माथि भएको सुनियोजित आक्रमण हो। त्यसैले मैले आफ्नो वैयक्तिक कुराहरु पनि राख्नुपर्छ।

आदरणीय आमाबुबा दाजुभाई र दिदीबहिनीहरू,एउटा व्यक्तिको जीवनमा परिस्थितिजन्य धेरै कुराहरू हुन्छन्। व्यक्तिको नियत के कुरामा भर पर्छ भने उसले त्यस्ता कुराहरूलाई लुकाउँछ वा पारदर्शी भएर सम्बन्धित सबैलाई भन्दछ। परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो। र त्योभन्दा ठूलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो जसको म बाबा पनि हो।

मेरो निजी जीवनको यो आयामबारे मैले पार्टीलाई जानकारी दिएको र पार्टी नेतृत्वले लिएको कानुनी परामर्श समेतलाई उम्मेदवार छनोट प्रक्रियामा संलग्न गरिएको मेरो बुझाइ छ।

एउटा कालखण्डमा जीवन बिताउने वाचा गरेका सम्बन्धहरू कुनै कारणले टुट्दै गर्दा त्यस पछाडिको सम्बन्ध तितो हुनुपर्छ भन्ने मलाई लाग्दैन। दुई व्यक्तिहरू असल हुँदाहुँदै पनि कहिलेकाहीँ सम्बन्धहरू टुट्छन्। तर ती टुटेका सम्बन्धहरूले बच्चाहरूको जीवन बर्बाद हुनु हुँदैन भन्ने मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

न्युरोचिकित्सकका रुपमा १४ वर्ष लामो मेरो यात्रामा मैले हजारौँ बालबालिकाहरूलाई नजिकबाट नियालेको छु र एउटा परिवार बिग्रँदा उनीहरूको सुसुप्त बाल मनोविज्ञानमा पर्ने असर महसुस गरेको छु। यसका आधारमा पारिवारिक सम्बन्धको असर बच्चामा पर्नु हुँदैन भन्ने कुरामा म सचेत छु।

सन्तानको भविष्यका लागि उसलाई जन्म दिने आमासँग मिलेर साझा अभिभावकत्व दिनका लागि यदि मेरो सम्बन्ध सौहाद्रपूर्ण छ र त्यो यदि मेरो गल्ती हो भने मलाई त्यसमा ग्लानी छैन। सम्बन्धविच्छेद भन्ने बित्तिकै के एकअर्कालाई गाली गर्नैपर्ने हो, के अर्काको अस्तित्व स्वीकार्न नहुने हो, के एकअर्कासँग भेट्नै नहुने हो वा उसँग मित्रभाव राख्नै नहुने होरु यदि मेरो छोराले उसको बाबाको सम्बन्ध आमासँग सुमुधर होस् भन्ने चाहन्छ भने ऊ नाबालिग हुँदासम्म मात्र होइन म बाचुन्जेल सम्बन्धको त्यो पक्ष दरिलो बनाउन चाहन्छु। त्यसमा मलाई कसैको अनुमति लिनु पर्दैन।

राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू, मेरो व्यावसायिक र सामाजिक जीवन खुला किताबझैँ सार्वजनिक छ। पेशागत सफलताले पूर्ण सन्तुष्ट भएपनि नागरिकका रुपमा म देशमा झाङ्गिँदै गएको विकृतिबाट असन्तुष्ट भएर राजनीतिमा आएको हुँ।

देश निर्माणमा योगदान दिन सक्छु भनेर कुनै कालखण्डमा एउटा पार्टीसँगको मेरो आबद्धतालाई कानुनी विधि अनुशरण गरी टुङ्ग्याएर राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य बनेको हुँ। मेरो यात्रा औसत राजनीतिभन्दा माथि रूपान्तरणकारी परिवर्तनका लागि हो। विराट लक्ष्य लिएर हिँडेको व्यक्ति यस्ता कुनै खाले आक्रमणबाट डराउनु हुँदैन , तर मेरो व्यक्तिगत कारणले पार्टीमाथि सानो दाग पनि लागोस् भन्ने म किन्चित चाहन्न ।

म नेता बन्न होइन,देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ। त्यो रूपान्तरणमा म बल हुन चाहन्छु, कमजोरी होइन । यो देशमा कति ठूलो राजनीतिक सुनामी आउँदैछ रुपन्देहीले सुनाउँदै छ । कसले भन्यो रूपन्देही -३ को उम्मेदवार म हो भनेररु रुपन्देही -३ को उम्मेदवार त पुनम,जेबी ,रचना,सुलभ, ज्ञानु, मधु, पार्थिवेन्द्र, कुसुम अनि यो देशलाई माया गर्ने सबै नेपाली हो। अस्ति नक्खु कारागारमा सभापतिले हामी सबैलाई भन्नुभएको कुरा म अहिले सम्झिरहेको छु। तपाईँहरु उम्मेदवार हुनुहोस् मेरो शुभकामना छ ,यदि बन्नुभएन भने पनि यो देश एउटा सौम्य र शान्तिपूर्ण क्रान्तिका लागि अब तयार छ र तपाईँहरू त्यसको संवाहक बन्नुपर्छ।

म त्यही यात्रामा अगाडि बढेको छु। रूपान्तरणको सुनामी ल्याउन हिँडेको मान्छे जस्तोसुकै त्यागका लागि पनि तयार छ। नेपालकै राजनीतिक इतिहासमा अभूतपूर्व अभ्यास मानिएको ‘उम्मेदवार छनोट विधि’ अन्तर्गत ३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट छनोट भई उम्मेदवार घोषित भएको तथ्य अवगत नै छ‌। तथापि मेरो पार्टीले गर्ने कुनैपनि निर्णयलाई म सहर्ष स्वागत ,स्वीकार र पालना गर्नेछु ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved