-फाइल तस्बिर
अछाम/ अछाममा छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्।
पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ की सात वर्षीया कविताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ओमप्रकाश खनालले जानकारी दिए। दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
घटनामा मृतक कविताकी आमा घाइते भएकी छन्। उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक टेकबहादुर देउवा नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको डिएसपी खनालले जानकारी दिए।