काठमाडौं/ हरितालिका तिजको अघिल्लो दिन आज (सोमबार) दर खाने पर्व मनाइँदै छ ।
दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट तिजको दिन निराहार व्रत बस्ने चलन छ । व्रतका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ ।
हरितालिका तिजको अघिल्लो दिन १ दिन मात्र दरखाने परम्परा रहे पनि राजधानी काठमाडौंलगायतका सहरी क्षेत्रमा १ महिना अघिदेखि नै दर खाने र खुवाउने चलन चलेको छ ।
परापूर्व कालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ विवाहित महिलाहरु पतिको सुवास्थ्य र दीर्घायूको कामना गर्दै तथा अविवाहिताहरु सुयोग्य बर पाउने कामना गर्दै तिजको व्रत बसी शिवको पूजा गर्ने चलन छ । तिजको दिन काठमाडौंको पशुपति लगायतका देशभरका शिवालयहरुमा व्रतालुको घुइँचो लाग्दछ ।
दरखाने दिनदेखि तिजको रौनक सुरु हुन्छ । पहिलो दिन आज सोमबार व्रतालु महिलाले दर खान्छन् भने दोस्रो दिन मंगलबार तिजको मुख्य दिन हो । यस दिन व्रतालुले निराहार व्रत बसेर भगवान् शिवको पूजाआराधना गर्छन् ।
बुधबार गणेश चौथी पर्व मनाइन्छ । अन्तिम दिन बिहीबार अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरेपछि ४ दिने तिज पर्व समापन हुन्छ ।