सुनसरी/ सुनसरीको इनरुवा नगरपालिका–४ बसपार्क क्षेत्रमा शनीबार प्रहरीले दुई छुट्टाछुट्टै कारबाहीमा ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
शनीबार दिउँसो १ः४० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क, इनरुवाबाट खटिएको संयुक्त टोलीले पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका दुई जनामाथि चेकजाँच गर्दा लागुऔषध बरामद गरेको हो।
प्रहरीले मोरङको केरावारी गाउँपालिका–८ बस्ने २२ वर्षीय लक्ष्मण कट्वाल र २८ वर्षीय गुमानसिंह घोरसानेलाई नियन्त्रणमा लिएको छ। कट्वालले मलद्वारमा च्यापी लुकाइराखेको अवस्थामा ब्राउन सुगर ३.२३ ग्राम (तीन ग्राम दुई सय तीस मिलिग्राम) बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै, सोही दिन साँझ ५ः१० बजे बसपार्क चोकमै अर्को कारबाहीमा प्रहरीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ३१ प ९९८१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ब्राउन सुगर बरामद गरेको हो।
पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–३ बस्ने ३१ वर्षीय आशिष राई रहेका छन्। उनको साथबाट ४.७२ ग्राम (चार ग्राम सात सय बीस मिलिग्राम) ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको लागुऔषध तथा मोटरसाइकलसहित तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।