सुनसरी/संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८२ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा वराहक्षेत्र नगरपालिका लगातार तेस्रो वर्ष पनि सुनसरीकै उत्कृष्ट पालिका बन्न सफल भएको छ।
जिल्लाको कान्छो नगरपालिकाका रूपमा रहेको वराहक्षेत्रले यसपटक १०० मध्ये ८५.७५ अंक प्राप्त गर्दै उपमहानगरपालिका र गाउँपालिकालाई पछि पार्दै पहिलो स्थान हात पारेको हो।
प्रदेशस्तरमा भने वराहक्षेत्रले ५औँ स्थान सुरक्षित गरेको छ। इलामको सूर्यदय नगरपालिका (९०.५० अंक) पहिलो, इलाम नगरपालिका दोस्रो, विराटनगर महानगरपालिका तेस्रो, खोटाङको हलेसी तुवाचुङ नगरपालिका चौथो र झापाको कन्काई नगरपालिका चौथो उत्कृष्ट पालिका बनेका छन्।
सुनसरीभित्र अन्य पालिकामध्ये भोक्राहा गाउँपालिका (८०.५०), दुहबी नगरपालिका (८०.२५), इटहरी उपमहानगरपालिका (८०), धरान उपमहानगरपालिका (७७.५०) लगायतले उल्लेख्य अंक प्राप्त गरेका छन्। तर, रामधुनी नगरपालिका भने ५३.५० अंक मात्र ल्याउँदै जिल्लामा पछिल्लो स्थानमा रह्यो।
नगर प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालका अनुसार मूल्याङ्कनका १० वटा सूचकमा वराहक्षेत्रले उच्च प्रदर्शन गर्दै लगातार उत्कृष्टता कायम गरेको हो।