धरान/ धरान उपमहानगरपालिकाले कृषि थोक बजार र अन्य सबै सब्जी बजारको सञ्चालन समय एकरूप पार्दै बिहान ५ बजेबाट मात्र खुल्ने निर्णय गरेको छ।
यो निर्णय बिषादी परीक्षणलाई प्रभावकारी बनाउने र थोक–खुद्रा बजारको व्यवस्थित सञ्चालन सुनिश्चित गर्न गरिएको हो।
भिडियो :
नेपाल सरकारले तरकारीमा बिषादी परीक्षण अनिवार्य गरेपछि किसान र व्यापारीहरुले डरले थोक बजार छलेर सिधै खुद्रा बजार तथा इटहरी, इनरुवा र विराटनगरतर्फ तरकारी पठाउन थालेका छन्। गत पटक २४ सय किलो काउली र १९ किलो रायोको साग बिषादीयुक्त भेटिएर नष्ट भएको थियो, जसले थोक बजारमा तरकारी आपूर्ति घटाएको छ।
बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले भने, "बिषादी भेटियो भने नष्ट हुन्छ, र क्षतिपूर्ति पाइँदैन भन्ने डरले किसान–व्यापारी थोक बजार छाड्दै गए। यसले उपभोक्ताको स्वास्थ्य र थोक बजारको अस्तित्वलाई संकटमा पार्दैछ।"
धरान उपमेयर अइन्द्रविक्रम बेघाको अध्यक्षतामा भएको बैठकले द्रुत बिषादी विश्लेषण इकाईलाई थप प्रभावकारी बनाउने, आवश्यक किट तथा रसायनका लागि प्रदेश कृषि मन्त्रालयसँग सहयोग माग्ने र सम्पूर्ण बजार क्षेत्रमा नमुना परीक्षण गर्ने निर्णय गरेको छ। साथै, बजार सञ्चालन समयलाई एकरूपता दिँदै बिहान ५ बजेबाट मात्र खुल्ने व्यवस्था लागू गरिएको छ।
सरकारका अधिकारी र सरोकारवालाहरुले बिषादी परीक्षणलाई सकरात्मक रूपमा लिएर धरानको कृषि थोक बजारलाई “बिषादीरहित अर्गानिक तरकारी”को ब्राण्ड बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।