धरान/ धार्मिक–पर्यटकीय स्थलको प्रवर्द्धन र सामाजिक कार्यमा सहयोग पुर्याउने उद्देश्यसहित धरानमा शनिबार कोरा राइड साइकलिङ्ग च्यालेन्ज भव्य रूपमा सम्पन्न भएको छ।
पेडलर्स धरानको आयोजनामा भएको प्रतियोगितामा देशभरबाट आएका दुई सयभन्दा बढी साइक्लिष्टले सहभागिता जनाएका थिए।
बिहान धरानको भानुचोकबाट शुरु भएको राइड विभिन्न चोक, धार्मिक तथा पर्यटकीय स्थल हुँदै ३२ किलोमिटर दूरी पार गरेर धरान–१७ स्थित साकेला पार्कमा पुगेर समापन गरिएको थियो।
पेडलर्स धरानका अध्यक्ष किशन मास्केका अनुसार यो च्यालेन्जले साइकलिङ्ग खेललाई मात्र होइन, धरानको धार्मिक र पर्यटन क्षेत्रलाई पनि उजागर गर्ने काम गरेको छ। साथै, स्वास्थ्य, शारीरिक तन्दुरुस्ती र समूहगत रमाइलोसँगै भाइचाराको सम्बन्ध विस्तारमा पनि योगदान पुर्याएको छ।
नेपालमा कोरा राइड सन् २०११ देखि सुरु भए पनि धरानमा भने सन् २०१७ देखि नियमित रूपमा हुँदै आएको छ। यसपटक पनि सहभागीहरुले "स्वास्थ्यसँगै सामाजिक उत्तरदायित्व" भन्ने सन्देश बोकेर प्रतियोगितामा भाग लिएको बताए।
प्रतियोगिताबाट संकलित रकम विगतमा जस्तै यसपटक पनि सामाजिक कार्यमै खर्च गरिने आयोजकले जनाएको छ। यसअघि धरान–१४ को आधारभूत स्वास्थ्य केन्द्रलाई सहयोग, शैक्षिक सामग्री वितरण, ह्वीलचेयर सहयोगलगायतका कार्यमा खर्च भएको थियो।
पेडलर्स धरानका सल्लाहकार विनयलाल श्रेष्ठले साइकलिङ्गप्रति रुचि बढाउनुका साथै सहभागीलाई एकताबद्ध बनाउन र समाजमा सकारात्मक सन्देश फैलाउन यो च्यालेन्ज महत्वपूर्ण भएको बताए।