धरान/ धरान-१३ र २० को संगमस्थलमा रहेको श्रम संस्कृति पार्कको टिकट काउन्टर अज्ञात समूहले तोडफोड गरेका छन्।
(शुक्रबार) आज विहान ५ बजे कर्मचारीहरू पार्क पुगेपछि काउन्टरको सीसा पूर्ण रूपमा फुटेको देखिएपछि तत्काल मेयर हर्कराज राईलाई खबर गरिएको थियो।
कर्मचारीका अनुसार, काउन्टर अगाडि–पछाडि दुई वटा सिसी क्यामेरा जडान गरिएका भए पनि एउटा क्यामेरा बिग्रिएको मौका पारेर अराजक तत्वले तोडफोड गरेको हुनसक्छ।
नगर प्रहरीले राति १० बजेसम्म मात्र निगरानी गर्ने भएकाले त्यसपछि पार्क सुनसान हुने र यही अवसरमा घटना घटेको अनुमान गरिएको छ।
घटना थाहा पाउने बित्तिकै मेयर राई स्वयम् घटनास्थलमा पुगेर अनुगमन गरेका छन्। “जो भए पनि कानुनी कारबाहीको भागीदार बन्नेछन्,” उनले भने। मेयरले तत्काल सिसी क्यामेरा फुटेज जाँच गर्न निर्देशन पनि दिएका छन्।
पर्यटकीय आकर्षणको केन्द्र मानिने श्रम संस्कृति पार्कमा दैनिक २०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। शनिवार मात्र ७ हजारभन्दा बढी पर्यटक आएको तथ्यांक छ।
यहाँ एसडिएस पार्क, आरा धरानलगायतका संरचनाले पर्यटक तान्ने गरेका छन्। धरानको पर्यटकीय क्षेत्रमा अज्ञात समूहद्वारा तोडफोड भएको यो पहिलो घटना हो। प्रहरीले घटनामा संलग्नलाई चाँडै पत्ता लगाएर कारबाही गर्ने जनाएको छ।
