-फाइल तस्बिर
विराटनगर/ विराटनगरमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्रा यस वर्ष भदौ १ गते (आइतबार) भव्य रूपमा हुने भएको छ।
भगवान श्रीकृष्ण र राधाको युगल मूर्तिसहितको रथ विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट सुरु भई तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोडशेष चोक हुँदै बरगाछी पुगेर पुनः मन्दिरमा फर्कनेछ।
१९८८ सालमा ‘खटयात्रा’को रूपमा थालिएको यो परम्परा २०२२ सालमा वयलगाडाबाट रथ निकाल्न सुरू भएको हो। २०२५ सालमा स्थानीय भूपालमानसिंह कार्की र सत्यनारायण धनावतले नयाँ रथ निर्माण गरेपछि यसलाई औपचारिक रथयात्रामा परिणत गरिएको हो।
आयोजकका अनुसार यसपटक नेपालका झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा र भारतका बिहार, पश्चिम बंगाललगायत क्षेत्रबाट करिब ४ लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ। रथको डोरी तान्दा मोक्ष प्राप्ति र मनोकामना पूरा हुने जनविश्वासले यो यात्रा धार्मिक मात्र नभई सामाजिक र साम्प्रदायिक सद्भावको प्रतीक बनेको छ।
राधाकृष्ण मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार पुरानो २०२५ सालको रथलाई पुनःनिर्माण गरी यसपटक पेगोडा शैलीमा १९ फिट लम्बाइ, १४ फिट चौडाइ र १८ फिट ३ इन्च उचाइको बनाइएको छ। स्वदेशी तथा विदेशी कालीगढको सहभागितामा रथलाई नयाँ ढंगले सिँगारिएको छ, जसमा सबै भक्तजनले भगवानलाई स्पष्ट देख्न सक्ने व्यवस्था मिलाइएको छ।
मोरङ प्रशासनले रथयात्रालाई सुरक्षित र सभ्य बनाउन विशेष सुरक्षा योजना लागू गरेको छ। प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको समन्वयमा पोसाकधारी र सादा पोसाकका सुरक्षाकर्मी चोकचोकमा खटाइनेछन्। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार कुनै पनि शंकास्पद गतिविधि देखेमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ।