धरान/बिषादी परीक्षणमा खान अयोग्य ठहर भएपछि धरानस्थित कृषि उपज बजारमा १९ किलो रायोको साग गाडेर नष्ट गरिएको छ।
कृषि उपज बजारस्थित बिषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले विभिन्न १० प्रकारका तरकारी परीक्षण गर्दा डाँडाबजारबाट आएको रायोको सागमा अर्गानोफस्फेट समूहको बिषादी अत्यधिक मात्रा पाइएको हो।
एकाइका प्रमुख रुपेश रिजालका अनुसार उक्त सागमा ६१.९१४१ प्रतिशत अर्गानोफस्फेट भेटिएको छ, जुन सुरक्षित सीमा (३५% भन्दा कम) भन्दा धेरै हो। उनले ३५–४५ प्रतिशतको बीचमा देखिए ‘क्वारेन्टाइन’ राखी केही दिनपछि मात्र उपभोग गर्न मिल्ने जानकारी दिए।
परीक्षण कृषि बजारमा मात्र केन्द्रीत भएको भन्दै व्यापारीहरुले असन्तुष्टि जनाएका छन्। उनीहरुका अनुसार पहाड र तराईबाट सिधै खुद्रा बजारमा पुग्ने तरकारी परीक्षणबिना बिक्री भइरहेका छन्। कृषि थोक बजारस्थल सञ्चालक समितिका अध्यक्ष काजी गिरीले सम्पूर्ण बजारमा समान रूपमा परीक्षण नहुँदा थोक बजारको व्यापार घटेको बताए।
व्यापारीहरुले किसानले बिषादीको अत्यधिक प्रयोग नगर्ने सुनिश्चित गर्न सम्बन्धित निकायले किसानलाई पनि जिम्मेवार बनाउने व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
धरानका सबै नाकाबाट आउने कृषिजन्य वस्तु अनिवार्य रूपमा थोक बजारमा इन्ट्री गरेर मात्र बिक्री गर्ने अघिल्लो निर्णय कार्यान्वयन नभएको अध्यक्ष गिरीले स्मरण गराए।
धरानका उपमेयर तथा परीक्षण एकाइका संयोजक अइन्द्रबिक्रम बेघाले व्यापारीको गुनासो जायज भएको स्वीकार गर्दै, स्रोतसाधनको अभावका बीच पनि अधिकतम प्रयास भइरहेको बताए। उनले बजारबाहिर पनि नगर प्रहरीमार्फत जाँचको दायरालाई विस्तार गरिरहेको र क्रमशः प्रक्रिया व्यवस्थित हुँदै जाने उल्लेख गरे।