-फाइल तस्बिर
धरान/विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ उपकुलपतिमा धरानका हाडजोर्नी विशेषज्ञ प्रा.डा. विक्रम श्रेष्ठ नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले मंगलबार उनलाई नियुक्त गरेका हुन्। श्रेष्ठले नियुक्तिपत्र भने बुधबार बुझ्ने भएका छन्।
सर्च कमिटीले यसपटक परम्परागत तीनको सट्टा चार जनाको नाम सिफारिश गरेको थियो। अन्तर्वार्ता र प्रस्तुतीकरणपछि प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. रामेश कोइराला र प्रा.डा. रोहित यादवको नाम तय भए पनि, चर्को दबाब र लविङका कारण प्रा.डा. श्रेष्ठको नाम पनि अन्तिम सूचीमा समावेश भएको हो।
धरानमा लामो समयदेखि स्थानीय व्यक्तिलाई उपकुलपतिमा नियुक्त गर्नुपर्ने माग उठ्दै आएको थियो। विगतमा प्रतिष्ठानको शिक्षाध्यक्षका रूपमा एक कार्यकाल पूरा गरेका श्रेष्ठलाई नियुक्त गराउन प्रतिष्ठानकै कर्मचारी र चिकित्सकहरू सक्रिय भएका थिए।