धरान/ धरान उपमहानगरपालिका–८ स्थित गुराँस मार्गमा कोठा भाडामा बसेका एक युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। मंगलबार बिहान ११:३० बजेतिर दिलबहादुर लिम्बुको घरको कोठामा झुन्डिएको अवस्थामा युवकको शव फेला परेको हो।
प्रहरीका अनुसार ती युवक अन्दाजी २५–२८ वर्षका देखिन्छन्। डेढ महिनाअघि ताप्लेजुङ घर बताउँदै कोठा भाडामा बस्न आएका उनले आफूलाई सौजन श्रेष्ठ जोशी भनेर चिनाएका थिए।
तर उनको वास्तविक नाम, स्थायी ठेगाना र पारिवारिक विवरण अझै पुष्टि हुन सकेको छैन।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगूका अनुसार कोठाबाट दुर्गन्ध आएपछि घरधनीको बुहारीले झ्यालबाट हेर्दा युवक झुन्डिएको अवस्थामा देखेकी थिइन्। त्यसपछि प्रहरीलाई खबर गरिएको हो।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा युवक गाडी लाइनमा सहचालकको रूपमा काम गर्ने गरेको खुलेको जनाएको छ।
हाल मृतकको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। युवकको परिचित वा आफन्तले सम्पर्क गर्न इलाका प्रहरी कार्यालय धरानले सार्वजनिक रूपमा आग्रह गरेको छ।
मृतकको परिचय खुलाउने प्रयास जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।