सुनसरी/ विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरामा ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। प्रहरीले लागुऔषधसहित एक दम्पतीलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर र चतराबाट खटिएको संयुक्त टोलीले मंगलबार साँझ ६:४५ बजे राजु शर्मा नामक ५० वर्षीय व्यक्तिको घर नजिकै रहेको बाख्राको खोरमा खानतलासी गरेको थियो।
प्रहरीले खोरभित्र लुकाइ–छिपाई राखिएको अवस्थामा २१०० क्याप्सुल ट्रामाडोल (Tramadol Hydrochloride Capsules I.P.) र ५४० ट्याब्लेट स्पास्मो प्रोक्सिभन (Spasmo Proxyvon) बरामद गरेको छ।
साथै, उक्त लागुऔषधसँगै घरधनी राजु शर्मा र उनकी श्रीमती ३२ वर्षीया रिता शर्मालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ। हाल उनीहरूलाई सोही कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले घटनास्थलमा लागुऔषध लुकाएर राख्ने कार्य सोही दम्पतीको संलग्नतामा भएको प्रारम्भिक अनुमान गरेको छ। यो घटनालाई प्रहरीले लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान अघि बढाएको बताएको छ।