धरान/ धरान उपमहानगरपालिका–२० मा स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्दै ‘माया धराने’ बेसार उद्योगको औपचारिक सुरुआत गरिएको छ।
शुक्रबार एक विशेष समारोहबीच धरानका मेयर हर्कराज राई (साम्पाङ) र वडा नं २० का अध्यक्ष पदम लिम्बुले रिबन काटी उद्योगको उद्घाटन गरे।
उद्घाटनसँगै प्याकेजिङसहित उत्पादन सुरु भएको ‘माया धराने’ ब्राण्डको बेसारको बजार बिक्री पनि सुरु गरिएको छ।
सुरुमा साबुन उद्योग खोल्ने योजना लिएर अघि बढेका मेयर साम्पाङले वन कार्यालयबाट आएको मुद्दाका कारण योजना परिवर्तन गरी स्थानीय कृषकको उत्पादनलाई प्राथमिकता दिँदै बेसार उद्योग स्थापना गर्ने निर्णय कार्यपालिका बैठकमार्फत गराएका थिए।
साविक विष्णुपादुका गाविस रहेको वडा नं २० बेसार पकेट क्षेत्रका रूपमा चिनिन्छ।
यहाँ उत्पादन हुने बेसारलाई व्यवस्थितरूपमा प्रशोधन गरी बजारसम्म पुर्याउने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको हो।
उद्योगको उद्घाटन कार्यक्रममा वडा नं १५ का अध्यक्ष नरेश इवारम, आर्थिक विकास समिति संयोजक विनिता बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाई लगायतले किसानलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्दै उद्योग स्थायित्वको लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए।
कार्यक्रममा सहभागी अध्यक्ष इवारमले धरानकै उत्पादनलाई ब्राण्डमा रूपान्तरण गर्ने नीति अनुसार मेयर साम्पाङको एजेण्डालाई साथ दिइएको स्मरण गरे। “उद्घाटनको हर्षजस्तै निरन्तरताको साथ पनि दिनुपर्छ,” उनले भने।
वडा अध्यक्ष पदम लिम्बुले कृषकहरूलाई प्रोत्साहनस्वरूप अनुदानको व्यवस्था गरिनुपर्ने बताए भने संयोजक बज्राचार्यले किरा समस्याका समाधानमा पनि उपमहानगरले ध्यान दिनुपर्ने बताइन्।
उद्योगको भवन निर्माणमा उपमहानगरपालिकाले १६ लाख ५० हजार र उपभोक्ताबाट २ लाख ८ हजार ६११ रुपियाँ लगानी गरिएको निर्माण समितिले जनाएको छ।
उद्योग सञ्चालनका लागि प्रसाद राईको अध्यक्षतामा सञ्चालक समिति गठन गरिएको छ।
अध्यक्ष राईका अनुसार सुरुमा ५ सय केजी उत्पादन गर्ने योजना भएपनि माग अत्यधिक भएपछि १५ सय केजीभन्दा बढी उत्पादन गरिएको छ।
उद्योग स्थापनामा सहयोग गर्ने सुरेन लिम्बु र शेरबहादुर लिम्बुले ७ कट्ठा जग्गा दान गरेका छन्।
उनीहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। यस्तै, बक्सिङ क्लब अध्यक्ष तथा उद्योग व्यवसायी दीपक राईले उद्योगका लागि करिब १ लाख ५० हजार मूल्य बराबरको सामग्री निःशुल्क सहयोग गरेका छन्।
समारोहमा धरानका अन्य वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्थानीय अगुवा र कृषकहरूको उपस्थिति रहेको थियो।
मेयर साम्पाङले सबैको साथ र विश्वासले काम गर्न सजिलो भएको भन्दै आभार व्यक्त गरे।