धरान/सुनसरी उद्योग वाणिज्य संघको यही असार ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका प्रत्यासी गोपाल श्रेष्ठ नेतृत्वको समूहले पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी र योजनाहरू सार्वजनिक गरेको छ।
श्रेष्ठ समूहले आफूलाई कुनै राजनीतिक दलको हैन, व्यवसायी र व्यापारीहरूको साझा प्रतिनिधिमूलक टिमको रूपमा प्रस्तुत गर्दै सबै पक्षको विश्वास जित्ने प्रयास गरेको छ।
धरान–१५ स्थित होटल धरान किचनमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गोपाल श्रेष्ठसहित उद्योग, वाणिज्य, एशोसिएट, वस्तुगत तथा महिला प्रतिनिधिहरूको पूर्ण टिमको औपचारिक घोषणा गरिएको थियो।
अध्यक्षमा गोपाल श्रेष्ठ उम्मेदवार रहेका छन् भने उद्योगतर्फ कृष्ण पाठक, प्रभात खतिवडा, विष्णु बराल र महेन्द्र प्रधान उम्मेदवार छन्।
वाणिज्यतर्फ अमित अग्रहरी, किसन मास्के, जयप्रकाश शर्मा, नविन राजभण्डारी, रामस्वरुप शर्मा, विवेक अग्रवाल, शशी साह, शैलेशकुमार आचार्य (प्रमोद) र वाणिज्य महिलातर्फ वर्षा अग्रवाल उम्मेदवार घोषणा गरिएको छ। एशोसिएट सदस्यमा अशोक जैन, मनिष अग्रवाल र ललितकुमार अग्रवाल छन्।
वस्तुगत सदस्यतर्फ नविनकुमार तामाङ र नारायण लिम्बु तथा उद्योग महिला सदस्य मीना राई मगर निर्विरोध निर्वाचित भइसकेका छन्।
यद्यपि निर्वाचन समितिबाट औपचारिक घोषणा हुन भने बाँकी रहेको जानकारी गराइएको थियो।
श्रेष्ठ समूहको पक्षमा संघका पूर्वअध्यक्षहरुको उल्लेख्य समर्थन देखिएको छ।
पूर्वअध्यक्षहरू गिरीधारी सापकोटा, राजेन्द्र साह, सरोज श्रेष्ठ, मोहनकाजी शाक्य, पवन अग्रवाल, विजय डाँगा, गौरीशंकर अग्रवाल र खजाञ्जीदास अग्रवाल पत्रकार सम्मेलनमै सहभागी भई गोपाल श्रेष्ठ समूहको पक्षमा उभिएका थिए।
उनीहरूले संघको दीर्घकालीन हित, नीतिगत स्पष्टता र व्यवसायिक सुधारका लागि श्रेष्ठ समूहलाई योग्य टिमका रूपमा समर्थन जनाएका थिए।
पत्रकार सम्मेलनमा गोपाल श्रेष्ठ समूहले आफ्नो योजनाको खाका प्रस्तुत गर्दै २६ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको थियो।
प्रतिबद्धता पत्रमा धरान र सुनसरी क्षेत्रको व्यापारिक साख पुनःस्थापना, लगानी प्रवर्द्धन, द्रुत व्यापारिक मार्गको विकास, धरान–लेउती सुरुङ मार्ग निर्माणमा पहल, उद्योगी व्यवसायीहरूको बीमा तथा राहत कोष, धरान कोसेली घर निर्माण,
संघको विधान सुधार, होटल तथा रेष्टुराँलाई राति १२ बजेसम्म सञ्चालन गर्न सक्ने वातावरण निर्माणलगायतका कार्यक्रम समावेश गरिएको छ।
श्रेष्ठले पत्रकारहरूसँग भने, “हामी कुनै दलबाट हैनौं, सबै व्यवसायी, उद्योगी र व्यापारीको साझा उम्मेदवार हौं। संघको नेतृत्वमा राजनीतिक हैन, व्यवसायिक सोच चाहिन्छ भन्ने दृष्टिले अघि बढेका छौं।”
पत्रकारहरूको प्रश्नमा खेल पर्यटन विकासबारे स्पष्ट योजना नराखिएको उल्लेख गर्दा श्रेष्ठले भने, “प्रतिबद्धता पत्रमा नभए पनि हामी चुनाव जितेपछि खेलकुद र पर्यटन व्यवसायमा लागेका व्यक्तिहरूसँग छलफल गरेर योजनाबद्ध रूपमा अगाडि बढ्छौं।”
कार्यक्रममा श्रेष्ठ समूहप्रति सिण्डिकेटको आरोप लागिरहेको सन्दर्भमा पूर्वअध्यक्ष सरोज श्रेष्ठले खण्डन गर्दै भने, “यो कुनै सिण्डिकेट हैन।
संघको विधानअनुसार दुई कार्यकाल कार्यसमितिमा भइसकेका योग्य व्यक्तिले मात्र अध्यक्ष बन्न पाउँछन्। हामीले संस्था र व्यवसायीको हितका आधारमा समर्थन गरेका हौं, न कि कुनै गुट वा समुहको।"
त्यस्तै, उम्मेदवारबाट एक लाख संकलन गरिएको भन्ने प्रश्नमा उम्मेदवार विष्णु बरालले स्पष्ट रूपमा भने, “हामी उम्मेदवार बनेका छौं, तर हामीसँग कुनै रकम मागिएको छैन, हामीले दिएको पनि छैनौं।”
कार्यक्रममा संघका वर्तमान अध्यक्ष विजय श्रेष्ठले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिमा संघको माग र पहलबारे जानकारी दिँदै स्थानीय व्यक्ति नै वीसी हुनुपर्नेमा संघ अडिग रहेको बताए।
श्रेष्ठ समूहले सार्वजनिक रूपमा व्यक्त गरेका योजनाहरू, स्पष्ट प्रतिबद्धता र संस्थागत दृष्टिकोणले चुनावी मैदानमा आफ्ना प्रतिस्पर्धीहरूमाथि सशक्त चुनौती पेश गरेको देखिन्छ। अब परिणामले के देखाउँछ भन्ने उत्सुकता व्यवसायी समाजभित्र बढ्दै गएको छ।