धरानको बजेट प्रक्रिया फेरि अल्झियो, नगरसभा अनिश्चित

  • असार ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/लामो समयपछि धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट तथा कार्यक्रम पेश गर्न बोलाइएको कार्यपालिका बैठक पुनः विवादमा परेपछि आइतबार स्थगित भएको छ।

उपमेयर अइन्द्र विक्रम बेघासहित २८ जना नगर कार्यपालिका सदस्यहरूले कानुनी प्रक्रिया र आवश्यक तयारी बिना बैठक बस्न मिल्दैन भन्दै मेयर हर्कराज साम्पाङलाई लिखितरूपमा पत्र बुझाएपछि बैठक सुरु नहुँदै स्थगित भएको हो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार १० गतेभित्र नगरसभामा वार्षिक बजेट तथा कार्यक्रम पेश गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, आइतबार (असार ८) को बैठक स्थगित भएपछि तोकिएको मितिमा धरानको बजेट तथा कार्यक्रम नगरसभामा पेस हुने अनिश्चित बनेको छ।

बैठक आइतबार दिउँसो २ बजेका लागि आह्वान गरिएको थियो। तर प्रमुख प्रशासकीय अधिकृतसमेत अनुपस्थित थिए। उनी काठमाडौँबाट आउँदै गरेको बताइएको भए पनि झन्डै दुई घण्टा ढिलाइ हुँदा पनि बैठकमा उपस्थित भएका थिएनन्।

उपमेयर बेघाका अनुसार, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ (६)(१) अनुसार प्रत्येक वर्ष वैशाख १० गतेभित्र बजेटको प्राथमिक सिलिङ तय गरिनुपर्ने र वैशाख १५ भित्र वडाहरू तथा सम्बन्धित शाखाहरूलाई जानकारी गराइसक्नुपर्ने व्यवस्था छ।

त्यसपछि तर्जुमा समितिले बजेट तथा कार्यक्रम तयार पारेर कार्यपालिकाबाट अनुमोदन गराई असार १० भित्र नगरसभामा पेस गरिनुपर्नेछ।

तर धरानमा अहिलेसम्म सिलिङ तथा सिमा निर्धारण समितिको बैठकमा समेत विवाद हुँदा प्रक्रिया अघि बढ्न सकेको छैन। यसअघि सोही समितिको बैठकका बेला पनि मेयर साम्पाङका समर्थकहरू उपमहानगर परिसरमा पुगेपछि स्थिति तनावपूर्ण बनेको थियो।

उपमेयर र कार्यपालिका सदस्यहरूले कानुनी प्रक्रिया पुरा गरेर, एजेन्डा समेटेर मात्र कार्यपालिका बैठक आह्वान गर्न माग गरेका छन्।

आईतबारको बैठकमा मेयर साम्पाङ नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारीमा थिए। उनले असार १० गते नगरसभा आह्वान गरेर नीति तथा कार्यक्रम मात्र प्रस्तुत गर्ने, बजेट तथा कार्यक्रमबारे पछि सहमति जुटाएर फेरि नगरसभा आह्वान गर्ने रणनीति बनाएको स्रोतको भनाइ छ।

गत वर्ष पनि अन्तिम समयमा यस्तै सहमति जुटाएर नगरसभा सम्पन्न गरिएको थियो।

यता मेयर साम्पाङले बजेट प्रक्रिया आन्तरिक विवादले प्रभावित भएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् — ‘बैठक बस्न सकेन। कसैलाई के को चासो, कसैलाई के को चासो। मन नमिलेपछि हामी यस्तै त हो नि, हो ब्रो।’

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved