जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि जबरजस्ती करणी)को मुद्दामा श्रीमान दोषी ठहरिएका छन्।
जिल्ला अदालत धनुषाका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलाशले श्रीमानलाई दोषी ठहर गर्दै ६ महिना कैद र १ लाख रुपैयाँ क्षतिपूर्ति तिर्ने फैसला सुनाएको हो।
वैवाहिक बलात्कारको आरोपमा २०७९ चैत २१ गते श्रीमतीले धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्। त्यसपछि २०८० साउन २१ गते पहिलोपटक मुद्दाको पेशी बसेको थियो।
सोही दिन अदालतले धरौटी माग्ने आदेश दिएको थियो।
कुल ३६ वटा पेशी चल्दै गएपछि अन्ततः जेठ १३ गते दोष पुष्टि भएको ठहर गर्दै सजाय निर्धारणका लागि प्रक्रियागत अगाडि बढाइएको थियो। त्यसअनुसार, जेठ २९ गतेको पेशीमा सजायपूर्वको प्रतिवेदन पेश गरियो। प्रतिवेदनका आधारमा गत शुक्रबार अदालतले अन्तिम फैसला सुनाएको हो।
अदालतले आरोपी श्रीमानमाथि ६ महिना कैद सजायका साथै पीडित श्रीमतीलाई एक लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने आदेश पनि दिएको छ।