विराटनगर/ नेपालका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछन्।
संवैधानिक व्यवस्था अनुसार केन्द्र सरकारले जेठ १५, प्रदेश सरकारले असार १ र स्थानीय सरकारले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार आज सातै प्रदेश सरकारले आ–आफ्ना प्रदेशसभा बैठकमार्फत बजेट प्रस्तुत गर्न लागेका हुन्।
कोशी प्रदेश सरकारले करिब ३७ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ।
यद्यपि, मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार वास्तविक आन्तरिक स्रोत भने ३३ अर्ब रुपैयाँ मात्रै रहेको छ। शनिबार झापाको गौरादहमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने, “हामीसँग ३३ अर्बको स्रोत छ, तर आवश्यकतालाई ध्यानमा राखेर तानतुन पारेर ३७ अर्बको बजेट तयार पारिरहेका छौं।”
आज दिउँसो ३ बजे कोशी प्रदेशको बजेट प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा पनि मगरकै नेतृत्वमा ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँको बजेट ल्याइएको थियो।
यसपटकको बजेटमा सांसदहरूका लागि पनि विशेष व्यवस्था गरिएको छ। मन्त्रालय स्रोतका अनुसार प्रत्यक्ष निर्वाचित सांसदका लागि २ करोड ५० लाख र समानुपातिक सांसदका लागि १ करोड ५० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ, जुन भौतिक पूर्वाधार मन्त्रालयमार्फत सांसदले प्रस्ताव गरेका योजनाहरूमा खर्च गरिनेछ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा ल्याएको २९ अर्ब २६ करोड ५९ लाख बराबरकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। आज साँझ ५ बजे प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।
बागमती प्रदेशले गत वर्षको ६२ अर्ब ७० करोड बजेटभन्दा बढी ६८ अर्ब हाराहारीको बजेट आज प्रस्तुत गर्ने तयारी गरेको छ। मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशले पनि आ–आफ्ना सभाबाट आज बजेट सार्वजनिक गर्दैछन्।
यसो गर्दा संघीय संरचनाअन्तर्गत सातै प्रदेश सरकारले आ–आफ्नो क्षेत्रीय आवश्यकता, स्रोत र प्राथमिकताका आधारमा बजेट ल्याउँदै गरेका छन्। स्रोत सीमित भए पनि विकास र जनअपेक्षालाई सम्बोधन गर्ने प्रयास प्रदेश सरकारहरूले गरेका छन्।