कृषकलाई मेसिनदेखि मलबीउसम्म : भद्रपुर नगरपालिकाको करोडौंको प्रोत्साहन

  • जेठ २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt -रासस

झापा/ भद्रपुर नगरपालिकाले कृषकलाई लक्षित गर्दै आधुनिक कृषि यन्त्र, बीउ, मल, विषादी र नगद प्रोत्साहनसहित करोडौं रुपैयाँ बराबरको सहयोग प्रदान गरेको छ।

नगरले कृषकहरूको उत्पादन क्षमता बढाउने र परम्परागत खेती प्रणालीलाई यान्त्रिकरणतर्फ लैजाने उद्देश्यले यो कार्यक्रम अघि सारेको हो।

नगरपालिकाले हालै भद्रपुर–९ स्थित एनएमसी एग्रो फार्म र भद्रपुर–१ स्थित पुष्पाञ्जली महिला कृषि सहकारी संस्थालाई चार चक्के राइस ट्रान्सप्लान्टर (धान रोप्ने मेसिन) प्रदान गरेको छ। त्यस्तै, छ–छ हजार थान सिड ट्रे वितरण गरिएको छ भने एनएमसी एग्रो फार्मले प्याडी सिडर मेसिन पनि प्राप्त गरेको छ।

नगर प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाका अनुसार, कुल ५८ लाख ५३ हजार रुपैयाँको लागतमा दुईवटा मेसिन खरिद गरी वितरण गरिएको हो। यसको ७५ प्रतिशत लागत नगरपालिकाले र २५ प्रतिशत सम्बन्धित सहकारीले बेहोरेका हुन्।

“यी मेसिनले एक घण्टामा सातदेखि आठ कठ्ठासम्म क्षेत्रफलमा धान रोप्न सक्छ,” निरौलाले भने, “यसले कृषकको श्रम र समय बचत हुनुका साथै उत्पादन लागत घटाएर आम्दानी बढाउँछ भन्ने अपेक्षा गरिएको छ।”

धेरै किसानलाई एकैपटक लाभ पुर्‍याउने उद्देश्यले वितरण गरिएका १२ हजार सिड ट्रेबाट १२० देखि १५० बिघासम्म क्षेत्रफलमा धान रोप्न सकिने जनाइएको छ।

कृषिबालीमा प्रोत्साहन: लाखौं नगद अनुदान

नगरपालिकाले कृषि कार्यक्रमअन्तर्गत विभिन्न बालीमा प्रोत्साहन रकमसमेत वितरण गरेको छ। सहायक कृषि प्रसार अधिकृत हेमराज पन्तका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को योजनाअनुसार:

  • तोरी खेती प्रवर्द्धन अन्तर्गत २४३ जना कृषक वा संस्थालाई ३,९३५ कठ्ठा क्षेत्रफलका आधारमा २० लाख रुपैयाँ (प्रतिकठ्ठा रु ५००) वितरण गरियो।
  • आलु खेतीमा संलग्न १४४ जना कृषक/संस्थालाई ६६२ कठ्ठामा गरिएको खेतीबापत १५ लाख रुपैयाँ (प्रतिकठ्ठा रु २,०००) दिइएको हो।
  • कोदो खेती गर्ने ५५ कृषक/संस्थालाई ३१५ कठ्ठामा खेतीबापत प्रतिकठ्ठा रु ७०० का दरले, र फापर खेती गर्ने ५९ कृषक/संस्थालाई ४८८ कठ्ठामा रु ५०० का दरले गरी ५ लाख रुपैयाँ वितरण गरिएको छ।

तरकारी र बगर खेतीमा समेत सहयोग

नगरपालिकाले न्यूनतम पाँच कठ्ठा तरकारी खेती गर्ने ५१ जना कृषकलाई बीउ, मल, विषादी र कृषि औजार ७५ प्रतिशत अनुदानमा उपलब्ध गराएको छ। प्रति कृषक रु १८,७५० बराबरको सामग्री वितरण गरिएको हो।

त्यस्तै, बगर क्षेत्रको उपयोग गरी खरबुजा खेतीमा उत्साहित १२ जना कृषकलाई नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको छ। यसबाट २० बिघाभन्दा बढी बगर क्षेत्रमा खेती गरिँदै आएको छ।

“हामी किसानको जीवनस्तर माथि उठाउने योजनाका साथ काम गरिरहेका छौँ,” कृषि प्रसार अधिकृत पन्तले भने, “यान्त्रिकरण र प्रोत्साहनको मेलले कृषिमा नयाँ युगको सुरुआत गर्नेेछ।"

नगरपालिकाले धान, मकै, कोदो, फापर, तोरी, आलु, तरकारीलगायतका बाली उत्पादनमा जोड दिँदै यान्त्रिक उपकरण, बीउ वितरण, र नगद प्रोत्साहनको माध्यमबाट कृषकको उत्पादन क्षमतामा गुणात्मक परिवर्तन ल्याउने प्रयास गरेको देखिन्छ।

वृक्षारोपण गर्दै महु ...

वराहक्षेत्र/ महुली लघुवित्त वित्तीय संस्था लिमिटेड ...

प्रेमजालमा फसाएर सुन ...

इटहरी/  मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुन ...

सुनसरीमा लागूऔषधसहित ...

ईनरुवा/  सुनसरीको ईनरुवामा ब्राउन सुगरसहित दु ...

धरानमा तीन दिने फुड ...

धरान/ धरान–१२, चतरालाइनस्थित प्राइम भिजन इन् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved