सुनसरी/ यस वर्षको मनसुन सुरु भएको पहिलो दिन शुक्रबार रातिको भीषण वर्षापछि धनकुटाको लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको करिब ३० मिटर सडक कटान गरेको छ।
धनकुटाको साँघुरीगढी गाउँपालिका–६ फेदीमा कालोपत्रे सडक कटान गरी खोलाले बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
धनकुटा प्रहरीले दिएको जानकारीअनुसार, एसपी शरदकुमार थापा क्षेत्रीले भने, “रातिको झरीले खोलामा बाढी आयो, जसले २५–३० मिटर सडक भत्काएको छ। यसले आज बिहानैदेखि कोशी लोकमार्ग बन्द भएको छ।”
धनकुटाबाट पाँचथर–ताप्लेजुङ जोड्ने सडकसमेत अवरुद्ध
बाढीले धनकुटामा अरु दुई ठाउँमा पनि सडकमा क्षति पुर्याएको छ।
चौबीसे गाउँपालिका–४ मा रहेको छहरे खोलाले तमोर करिडोर सडक भत्काउँदा पाँचथर–ताप्लेजुङ जोड्ने यातायात सेवा पनि पूर्ण रूपमा ठप्प भएको छ।
साथै, पर्यटकीय स्थल नमस्ते झरना नजिकको सडक खण्डमा पनि बाढीका कारण अवरोध भएपनि सो अवरोध प्रहरीको पहलमा हटाइएको जनाइएको छ।
मनसुन १५ दिन अगावै प्रवेश, पूर्वमा १२ घण्टामा २०३ मिमी वर्षा
नेपालमा मनसुन सामान्यभन्दा १५ दिन छिटो, शुक्रबारदेखि सुरु भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुन सुरु भएको दिनमै पूर्वी नेपालमा १२ घण्टाभित्र २०३ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।