इटहरी/ नेपाल प्रेस युनियन सुनसरीले आफ्नो ३३औँ स्थापना दिवसको अवसरमा मङ्गलवार इटहरीमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।
इटहरी उपमहानगरपालिका कार्यालय अगाडिबाट सुरु भएको र्यालीले विभिन्न चोकहरूको परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो। कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कोणसभामा बोल्दै नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष तथा अग्रज पत्रकार हर्ष सुब्बाले स्वरोजगारमुखी मिडिया हाउसहरूलाई सुदृढ बनाउन आवश्यक रहेको बताए। सञ्चारकर्मीहरूलाई आत्मनिर्भर बनाउने खालका संरचनागत पहलको खाँचो औंल्याउँदै उनले मिडिया क्षेत्रमा दिगो विकासका लागि साझा प्रयासको आवश्यकता रहेको उल्लेख गरे।
त्यसैगरी, प्रेस चौतारी कोशी प्रदेश अध्यक्ष सुमन पुरीले विचार फरक भए पनि लक्ष्य एउटै भएकाले सबै सञ्चारकर्मी एकताबद्ध भएर चुनौतीको सामना गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे।
कार्यक्रममा प्रेस युनियन कोशी प्रदेशका सचिव विनय बाह्राकोटी, प्रेस सेन्टर सुनसरीका अध्यक्ष तिर्थ कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
स्थापना दिवसको अवसरमा सञ्चारकर्मीबीच एकता, सङ्गठनात्मक सुदृढीकरण र व्यावसायिक सुरक्षाका विषयमा समेत छलफल भएको आयोजकले जनाएको छ।