धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई शुक्रबार एक विशेष समारोहबीच सम्मान गरेको छ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
त्यस्तै, विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्टता देखाउने विद्यार्थीहरू पनि पुरस्कृत भए।
पुरस्कार वितरण विद्यालयका प्रिन्सिपल मिलन राई, भाइस प्रिन्सिपल अशोक लिम्बु, प्लस टु कोअर्डिनेटर टप कुमार राई लगायतले गरेका थिए।
एस.ई.ई. स्पिकर र मिस एस.ई.ई. का फाइनलिस्टलाई विशेष सम्मान
२०८१ सालको एस.ई.ई. परीक्षा दिएका विद्यार्थीहरूबीच आयोजना गरिएको ‘एस.ई.ई. स्पिकर’ तथा ‘मिस एस.ई.ई.’ प्रतियोगिताको फाइनलमा पुग्न सफल नाबिया सरखाना र सृष्टि लिम्बुलाई विद्यालयले विशेष सम्मान प्रदान गरेको छ।
नाबिया ‘एस.ई.ई. स्पिकर’ प्रतियोगिता तथा सृष्टि ‘मिस एस.ई.ई.’ को फाइनलसम्म पुगेका हुन्। उनीहरूलाई प्रिन्सिपल मिलन राई र कोअर्डिनेटर टप कुमार राईले मायाको चिनो, अबिर र खदा लगाएर सम्मान गरेका थिए।
कार्यक्रममा नाबियाले प्रतियोगिताबाट प्राप्त अनुभव साझा गरेकी थिइन् भने सृष्टिले नृत्य प्रस्तुति दिँदै दर्शकहरूसँग भोटको आग्रह गरेकी थिइन्।
कार्यक्रम सञ्चालन दीक्षा लिम्बु, शारदा लिम्बु, नाम्साङ लिम्बु र एलिना मास्केले गरेका थिए।
तस्बिरहरू :