काठमाडौं/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र अन्तर्राष्ट्रिय तथा आन्तरिक कनेक्टिभिटी विस्तारमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नाट्टा (नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स) को आयोजनामा काठमाडौंमा सुरु भएको तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बिआईटीएम) को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले यस्तो धारणा व्यक्त गरेका हुन्।
ढकालले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउँदै नेपाललाई बौद्ध पर्यटन केन्द्रका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए। “भारत र चीनमा रहेका विशाल बौद्ध जनसंख्यालाई लक्षित गर्दै उपयुक्त ब्रान्डिङ र प्याकेजहरू तयार गर्न जरुरी छ,” उनले भने।
लुम्बिनीसहितका बौद्ध तीर्थस्थलहरूलाई भारतका तीर्थस्थलहरूसँग जोडेर बौद्ध सर्किट निर्माण गर्नुपर्नेमा उनको जोड थियो। “विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई लुम्बिनी भ्रमणको सन्देश दिन सकियो भने नेपालको पर्यटन क्षेत्रको सम्पूर्ण आयाम नै परिवर्तन हुन सक्छ,” उनले धारणा राखे।
अध्यक्ष ढकालले अर्बौंको लगानीमा बनेका गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै पूर्ण रूपमा सञ्चालनमा आउन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई ठोस पहल गर्न आग्रह गरे।
“लुम्बिनीको शान्त वातावरण ध्यान, योग तथा स्वास्थ्य पर्यटनका लागि अत्यन्त उपयुक्त छ। बिआईटीएमले लुम्बिनीको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउनेछ,” उनले भने।
नेपालको हवाई भाडा महँगो भएको र टिकटमा लाग्ने भ्याटले थप बोझ पार्ने भएकाले यसको पुनरावलोकन आवश्यक रहेको उनको भनाइ थियो।
विवाह, बैठक तथा सम्मेलन पर्यटनका लागि नेपाललाई उत्कृष्ट गन्तव्य बनाउन सकिने उल्लेख गर्दै उनले भारतका सीमावर्ती मध्यम वर्गीय पर्यटकहरूलाई लक्षित गरी उनीहरूका लागि नेपालको प्रवेश प्रावधान परिमार्जन गर्नुपर्ने सुझाव पनि दिए।
अन्त्यमा, पर्यटन क्षेत्रमा नेपालमा विदेशी लगानीको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आह्वान गरे।