विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ।
झापाको बिर्तामोड नगरपालिका–४ का २६ वर्षीय संजोग लिम्बूलाई ६६० मिलिग्राम ब्राउनसुगरसहित इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जेठ ३ गते चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो।
त्यसैदिन दमक नगरपालिका–३ का १९ वर्षीय मिङ्सो लिम्बूलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको टोलीले ९ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
त्यसैगरी, धरान उपमहानगरपालिका–१ का २६ वर्षीय रुस्तम राई र धरान–१३ की २७ वर्षीया भावना गुरुङलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले ४९० मिलिग्राम ब्राउनसुगर र नगद ३८ हजार ८ सय रुपैयाँसहित पक्राउ गरेको छ।
पक्राउ परेका चारै जनामाथि लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।