धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोमबार अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ ।
पाँच वर्षभन्दा बढी समयदेखि अस्पतालमा सेवा गरिरहेका दुईजना नर्सलाई सो अवसरमा ‘नर्स अफ दी इयर’ सम्मान प्रदा नगरिएको थियो ।
यो सम्मान प्राप्त गर्ने नर्सहरूमा इमर्जेन्सी विभागका वरिष्ठ अनमी टीका शङ्कर र आईसीयू विभागका वरिष्ठ स्टाफ नर्स रञ्जिता आले मगर छन् । उनीहरूलाई ट्रफी र नगदसहित अन्य उपहारहरू पनि प्रदान गएिको थियो ।
त्यसैगरी, अस्पतालमा पाँच वर्षभन्दा बढी सेवा गरेका अन्य पाँचजना नर्सहरूलाई पनि ट्रफीसहित सम्मान गरिएको प्रमुख अस्पताल प्रशासक इन्दु नेपाल योन्जनले जनाए ।
यसरी सम्मान प्राप्त गर्नेहरूमा वरिष्ठ स्टाफ नर्सहरू दीक्षा तामाङ, शिला तामाङ र ज्योति भुजेल तथा वरिष्ठ अनमीहरू शारदा दर्जी र रनमाया राई छन् ।
मेट्रोन मञ्जु लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि अस्पतालका अध्यक्ष डा. पङ्कज खतिवडा थिए ।
कार्यक्रममा मेडिकल निर्देशक डा. जनक दास कठबनियाँ, प्राइम भिजन इन्टरनेसनल कलेजका प्रमुख कार्यकारी अधिकृत अभिषेक श्रेष्ठ र प्राइम भिजन इन्टरनेसनल कलेजका निर्देशक अनिल श्रेष्ठ पनि उपस्थित थिए ।