गौरादहको बजारैमा माया हाम्रो बस्यो ... मुख्यमन्त्रीले भेटे ताजपुरिया

  • चैत ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  ‘गौरादहको बजारैमा माया हाम्रो बस्यो, कसो गरी भुल्ने होला मन उडिगयो, मन उडिगयो’ बोलको चर्चित गीतका गायक हुन्, सीताराम ताजपुरिया ।

६७ वर्षीय ताजपुरियाको स्वरमा २०३७ सालमा रेकर्ड भएको उक्त चर्चित गीत कुनै समय नेपाली जनजिब्रोमा झुन्डिएको थियो । यस्तै कालजयी गीतका कारण चर्चाको शिखरमा पुगेका उनी अहिले के गरिरहेका छन् भनेर सबैलाई चासो हुन सक्छ ।झापाको गौरादह नगरपालिका–२ घर भएका उनी अहिले पत्नी लक्ष्मी ताजपुरियाको साथमा छन् ।

लक्ष्मी उनकी कान्छी पत्नी हुन् । सन्तान छैनन् । रेडियो नेपालको अधिकृत पदबाट २०७१ भदौ १७ गते उनले अवकाश पाएका थिए ।त्यसपछि लामो समयदेखिको काठमाडौं बसाइ टुंग्याएर उनी पुरानै थातथलो गौरादह फर्किए ।

त्यसयता ताजपुरिया दम्पती आफ्नै घरमा बसिरहेका छन् । गौरादहमा घरनजिकको ठाउँलाई उनकै नामबाट सीताराम ताजपुरिया चोक नामकरण गरिएको छ । उक्त नामकरण २०७२ सालमा गरिएको हो ।

ताजपुरियाकै गीतका कारण देशभर गौरादह चर्चित भएको गौरादह–२ का वडाध्यक्ष गोपालप्रसाद कोइरालाले बताए । ‘उहाँ (ताजपुरिया)ले गौरादहको परिचय राष्ट्रियस्तरमा गराउनु भयो ।

उहाँ गौरादहलाई चिनाउने राष्ट्रिय कलाकार हो । हामी सबैले सधैं सम्मान गरिरहन्छौं,’ कोइरालाले भने ।उनका अनुसार चर्चित गायक ताजपुरियाले आफ्नो गाउँघर बिर्सिएनन् । जागिरे जीवनबाट अवकाश पाएपछि आफ्नै ठाउँमा फर्किएर बस्न थालेको कोइरालाले बताए ।

‘उहाँ आफ्नै ठाउँ गौरादह फर्कनु भयो । नेपाली संस्कृतिलाई उत्तिकै माया गर्नुहुन्छ,’ उनले भने ।ताजपुरिया धेरै गीत गाएर पनि कमाइ गर्न नसकेका गायकमध्येमा पर्छन् । तर, नाम कमाउन सकेकैमा उनी खुसी छन् । ‘गौरादहको गीत गाउँदा सबैले चिन्नु भयो ।

म पनि गौरादहकै मान्छे हुँ । यो ठाउँको असाध्यै माया लाग्छ । त्यही भएर जागिर सकिएपछि काठमाडौं छाडेर गौरादह फर्किएँ,’ ताजपुरियाले भने ।
उनको परिवार ‘पेन्सन’को भरमा चलेको छ । अन्य कुनै आम्दानी नभएको छिमेकी खेम तिम्सिनाले बताए । ताजपुरिया पछिल्लो समय अलि अस्वस्थ्य छन् । तिम्सिनाका अनुसार ताजपुरियालाई मधुमेह र उच्च रक्तचापको पुरानै समस्याले गाँज्दै लगेको छ ।

‘मधुमेहका कारण आँखामा पनि समस्या भयो । राम्ररी देख्न सक्नु हुन्न । नजिकै पुगेपछि मात्रै मान्छे चिन्नु हुन्छ । कतै हिँडडुल गर्न गाह्रो पर्छ । त्यहाँमाथि वृद्ध अवस्थाले सबै कुरा घर र आँगनमै सीमित गरिदिएको छ,’ तिम्सिनाले भने । तर, कुनै ठाउँमा सांगीतिक कार्यक्रम हुँदा ताजपुरियालाई निम्ता आउँछ । आयोजकले नै लाने र ल्याउने व्यवस्था मिलाउँछन् ।

अहिले पनि कार्यक्रममा पुगेर गीत गाउँछन् । बुढेसकालसँग पौंठेजोरी खेलिरहेका ताजपुरियाको अहिले पनि उत्तिकै सुमधुर स्वर छ । गीत गाएरै सबैलाई मन्त्रुमुग्ध बनाउन सक्छन् । ‘अहिले म घरबुढो हुँ । आँखा त्यति राम्रो देख्दिन ।

कुनै कार्यक्रम हुँदा आयोजकले नै लैजाने र ल्याउने व्यवस्था मिलाउँछन्,’ मुलुकी खबरसँग ताजपुरियाले भने ।गीत गाएकैले २०५७ सालमा राजा वीरेन्द्रबाट गोरखा दक्षिणबाहु पदक पाएको स्मरणले उनले गरे ।

रेडियो नेपालबाट स्वर्ण पदक तथा तत्कालीन सञ्चारमन्त्री शंकर पोखरेलको हातबाट २०६६ सालमा सेवा पदकसमेत प्राप्त गरे । अरु पनि धेरै पुरस्कार र पदकहरु पाएको उनले सुनाए । घरभित्र भान्साबाहेकका सबै कोठा उनले पाएको तक्मा, पुरस्कार, सम्मान र कदरका प्रमाणपत्रहरुले भरिएका छन् ।

उनले ताजपुरियासहित विभिन्न भाषाका गीतहरु गाएका छन् । राष्ट्रिय गीत, लोकगीत, बाल गीत, भजन र ताजपुरियासहित विभिन्न भाषाका गरेर चानचुन २ सय गीत गाएको ताजपुरिया सुनाउँछन् ।

२०३७ सालमा तत्कालीन अञ्चलाधीश लीलाराज बिष्ट र प्रमुख जिल्ला अधिकारी दानबहादुर शाहीबाट १२५ रूपैयाँ तथा गौरादह गाउँ पञ्चायतका प्रधानपञ्च नरबहादुर बस्नेतबाट १२५ र भाउजूबाट पाएको ५२ रूपैयाँ बोकेर उनले काठमाडौंको यात्रा तय गरे । भाउजूले पारिवारिक हिसाबले सहयोग गरिन् ।

अरुले गीत सुनेर ताजपुरियालाई पैसा दिए ।
त्यो पैसा काठमाडौं जाने बाटो खर्च भयो । उनी नेपालमै ताजपुरिया भाषाको गीत रेकर्ड गराउने पहिलो सर्जक हुन् । काठमाडौं पुगेर उनले रेडियो नेपालबाट स्वर परीक्षा पास गरे । त्यसलगत्तै ताजपुरिया भाषाको पहिलो गीत रेकर्ड गराए ।

उनले पहिलोपटक रेकर्ड गराएको ताजपुरिया भाषाको गीतको बोल थियो, ‘कालो गेरे छोडिर देहार गथान खपा हेर्देली माई नाखत बेसान’ (काली काली भएपनि हिस्सी परेकी छौ) ।’ताजपुरिया भाषाको गीत रेकर्ड गराएपछि उनले नेपाली लोकगीत गाउन थाले । ‘गौरादहको बजारैमा माया हाम्रो बस्यो’ गीत गाए ।

जुन गीतले उनलाई चर्चित बनायो । अहिले पनि धेरैले उनलाई त्यही गीतको सर्जकका रूपमा चिन्छन् ।
उनकै आग्रहमा गौरादह र जुरोपानी गाउँलाई समेटेर गौरादह नगरपालिका घोषणा गरिएको हो ।

गौरादहको पहिचान मेटाउनु हुँदैन भनेर नेताहरुलाई आग्रह गरेको र पहिचान जीवित राख्न सक्दा गर्व महसुस भएको ताजपुरिया बताउँछन् ।

 ताजपुरिया जाति झापाको आदिवासी समुदाय हो । यो जातिको आफ्नै मातृभाषा, भेषभूषा र संस्कृति छ । मातृसंस्कृति जोगाउँदै नेपाली भाषा र लोकलयमा गीत गाएर ताजपुरियाले पुर्याएको योगदान अतुलनीय रहेको वडाध्यक्ष कोइरालाले बताए ।

ताजपुरिया साथीभाइसँगको संगतले आफूलाई गायनतर्फ डोर्याएको बताउँछन् । सानैदेखि नेपाली भाषा, संस्कृति र लोकलयसँग नजिकिएको उनले सुनाए । ‘नेपाली भाषा बोल्ने मेरा साथीहरु धेरै थिए ।

उनीहरुसँगै घुलमिल हुन्थ्यो । त्यसको प्रभाव गीतमा पनि परेको हो,’ ताजपुरियाले विगत सम्झिए ।नेपाली गीत संगीतका क्षेत्रमा लामो समय योगदान दिएका उनले दाम कमाउन सकेनन् । नाम भने राम्रैसँग कमाए । उनी त्यसमैमा खुसी छन् । सम्पत्तिका नाममा १ कट्ठा जग्गा र घर छ ।

मुख्यमन्त्रीले भेटे ताजपुरिया

नेपाली गीत संगीतका होनहार सर्जक ताजपुरियालाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार भेटेका छन् ।

गौरादहस्थित ताजपुरियाकै घरमा पुगेर भेटेका कार्कीले उनको पछिल्लो अवस्थाका बारेमा जानकारी लिए ।कार्कीले होली पर्वको उपलक्ष्यमा आमा भेट्न घर पुगेर विराटनगर फर्किने क्रममा गायक ताजपुरिया र उनकी पत्नीलाई भेटेको कार्कीले बताए ।

उनले ताजपुरियासँग भेटेर गफ गर्दै गरेको फोटाहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।ताजपुरियाले आफूलाई सिरुवा पर्व मनाउन २०८२ वैशाख १ गते गौरादह आउनलाई आमन्त्रण गरेको मुख्यमन्त्री कार्कीले बताए ।

‘निम्तो स्वीकार गरियो, अनि भाउजू (ताजपुरियाकी पत्नी)ले हामीलाई सेलरोटी खाजा खुवाएर बिदा गर्नु भयो,’ उनले भने ।
रेडियो नेपालबाट सेवानिवृत्त भएपछि ताजपुरिया आफ्नै जन्मथलोमा बसोबास गरिरहेको कार्कीले बताए ।

मुख्यमन्त्री कार्कीले ताजपुरिया दम्पतीको सुस्वास्थ्य र दीर्घजीवनका साथै कला सिर्जनामा थप सफलताको कामनासमेत गरेका छन् ।

-मुलुकी खबरबाट

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved