बराहक्षेत्रमा हात्तीको त्रास – सुमन बस्नेत

  • फागुन ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

प्रत्येक वर्ष हिउँद याम लाग्नासाथ बराहक्षेत्र नगरपालिकाका बासिन्दाहरूलाई एउटै पीरले सताउँछ– जंगली हात्तीको आतंक ।

भारतबाट मेची नदी पार गरी झापा हुँदै मोरङका जंगल पार गरेर सुनसरीका विभिन्न क्षेत्रसम्म आइपुग्ने हात्तीहरूले बराहक्षेत्रका गाउँहरूमा त्रासको माहोल सिर्जना गर्ने गरेका छन् ।

यस क्रममा हात्तीले जंगल छेउका गाउँहरूमा प्रवेश गर्दा बाली नष्ट गर्ने, गोठ भत्काउने र जनधनको क्षति पुर्‍याउने घटना बारम्बार हुने गरेका छन् ।
पछिल्लो तिन वर्षमा मात्रै जंगली हात्तीले दुई स्थानीयको ज्यान लिइसकेको छ भने केही स्थानीयहरु घाइते समेत भएको पाइन्छ ।

बराहक्षेत्रमा जंगली हात्तीको आक्रमणबाट २०७९ माघमा ६५ वर्षिय धन बहादुर माझी र २०८० पौषमा ६९ वर्षिय भीम बहादुर बिष्टको ज्यान गइसकेको छ ।

जंगली हात्तीले क्षति गरेको भौतिक संरचना तथा अन्नबालीको राहत मागका लागि बराहक्षेत्र नगरपालिकाको कार्यालयमा वर्षेनि सयौंको सख्यामा निवेदन आउने गरेको र कार्यालयबाट नियमानुसार राहत रकम वितरण गर्ने गरेको नगरपालिकाका विपद् फोकल पर्सन तथा प्रशासकीय अधिकृत राजकुमार गौतमले बताउनु भयो ।

यस कारण बराहक्षेत्र नगरमा हात्ती आउँने समयमा स्थानीयबासीहरुमा त्रास एवं भयको वातावरण सिर्जना हुने गरेको छ।
बारम्बार हात्तीले पुर्‍याउने यस्ता क्षतिका कारण स्थानीय बासिन्दा हात्ती प्रति नकारात्मक भाव बढेको प्रस्ट देखिन्छ  त्यसैको नतिजा हो, बराहक्षेत्र नगरपालिकामा २०७९ सालमा एक जंगली हात्ती मृत फेला पर्नु। हात्तीको बथान सयौं वर्ष देखि परम्परागत बाटो भएर हिँड्छन् ।

हात्तीले आफू हिँड्ने बाटो बिर्सिंदैन। वन बिनास हुने क्रम बढ्दै जाँदा हात्ती हिड्ने बाटो नै मासेर बस्ती र विभिन्न पूर्वाधारहरु विस्तार भएका छन् । जसका कारण हात्तीलाई चरण क्षेत्र र आहाराको अभाव हुँदै गएको छ ।

हात्तीको बथान परम्परागत मार्गहरू हुँदै सयौं वर्ष देखि आवत जावत गर्छ । हात्तीले एक पटक पहिचान गरेको बाटो बिर्संदैन । तर वन विनाशको दर बढ्दै जाँदा ती मार्गहरू मासिएर त्यहाँ बस्ती र अन्य पूर्वाधारहरू निर्माण भइरहेका छन् ।

जसले गर्दा हात्तीको बासस्थान साँघुरिएको छ र यसको प्रतिफल नै हो मानव–हात्ती द्वन्द्व ।

मान्छेले गर्ने लापरबाही र व्यवहार परिवर्तन नगर्दासम्म जंगली हात्तीको आक्रमणको संख्या घटाउन मुस्किल पर्छ । गाउँमा पसेपछि के गर्ने भन्ने थाहा नहुँदा कतिपयले आफू र परिवारको सुरक्षाका लागि गलत कदम चाल्छन् । यसले हात्तीको आक्रमणलाई झन् बढावा दिएको छ ।

हात्ती आउँदा के नगर्ने ?

# हात्तीलाई आक्रमण गर्न उक्साउने व्यवहार नगर्नुहोसः
 ढुंगा हान्ने वा झटारो हान्ने प्रयास नगर्नुहोस्, यसले हात्तीलाई उत्तेजीत बनाउँछ र आक्रमण गर्न सक्छ।

# खाद्य सामग्री खुला नराख्नुहोस 

 नुन, चामल, मकैजस्ता खाद्य सामग्रीलाई खुला ठाउँमा नराख्नुहोस् । हात्तीलाई आकर्षित गर्ने खाद्य वस्तु सुरक्षित भण्डारण गर्नुहोस्।

# हात्तीको नजिक नजानुहोसः

 हात्तीको नजिक जान नखोज्नुस, खासगरी मद्यपान गरेर हात्तीलाई खेदाउने वा जिस्काउने प्रयास नगर्नुहोस्।

# परम्परागत मार्गको अवरुद्ध नगर्नुहोसः
 हात्तीको बथान परम्परागत मार्गहरू हुँदै सयौं वर्षदेखि आवतजावत गर्ने भएकाले यी मार्गहरूको अतिक्रमण वा त्यसमा बाधा नपुर्‍याउनुहोस ।

#. हात्तीलाई मार्ने वा हानी गर्ने कार्य नगर्नुहोस्ः
 हात्तीलाई मार्ने वा हानी पुर्‍याउने कुनै पनि कार्य नगर्नुहोस्, किनभने यसले समस्यालाई झन् बल्झाउन सक्छ।

हात्ती आउँदा के गर्ने ?

१. सुरक्षित स्थानमा जानुहोस
 हात्ती गाउँमा प्रवेश गर्र्यो भने आफ्नो र परिवारको सुरक्षाका लागि सुरक्षित ठाउँ खोज्नुहोस्।

२. सम्बन्धित निकायलाई खबर गर्नुहोस ।
 वन कार्यालय, प्रहरी वा स्थानीय निगरानी टोलीलाई तुरुन्तै जानकारी दिनुहोस्।

३. सामूहिक निगरानी टोली गठन गर्नुहोस्ः
 गाउँस्तरमा निगरानी टोली बनाई हात्तीको गतिविधि अनुगमन गर्नुहोस्।
 आधुनिक प्रविधि (ड्रोन, थर्मल क्यामेरा) को प्रयोग गर्दा प्रभावकारी हुन्छ।

४. हात्तीलाई शान्त वातावरणमा फर्कन दिनुहोस ।
 हात्तीलाई जंगलतर्फ फर्कन सहज वातावरण सिर्जना गर्नुहोस्।

५. चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुहोस्ः
 समुदायलाई हात्तीको जैविक महत्त्व, सह–अस्तित्वका उपाय र सुरक्षाका बारेमा जानकारी दिनुहोस्।

अन्त्यमा, बराहक्षेत्रमा जंगली हात्तीको त्रासलाई व्यवस्थापन गर्न सामुदायिक सहभागिता, वैज्ञानिक दृष्टिकोण र दीर्घकालीन योजना आवश्यक छ । जैविक विविधता र सहअस्तित्वको संरक्षणका लागि हात्तीलाई जैविक विविधताको संरक्षकका रूपमा सम्मान गर्दै मानव–हात्ती द्वन्द्वलाई न्यून गर्ने प्रयास आवश्यक छ।

यस्ता प्रयासहरूलाई सफल बनाउनका लागि सरकार, स्थानीय निकाय, सरोकारवाला निकाय र स्थानीय समुदायको साझा भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । सरकारले वन्यजन्तु संरक्षणको नीति र कार्यक्रमहरू लागू गर्दै सही समन्वय गर्नुपर्छ । स्थानीय निकायहरूले समुदायसँग नजिकबाट सहकार्य गर्दै सतर्कता, व्यवस्थापन, निगरानी टोली गठन र समुदायलाई हात्तीको जोखिमबारे सचेत गराउने कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुपर्छ ।

त्यस्तै, सरोकारवाला निकायहरूले वैज्ञानिक अध्ययन, प्रविधिको उपयोग र विशेषज्ञ परामर्शबाट प्रभावकारी समाधानहरू निर्माण गर्न सहयोग पुर्याउनु आवश्यक छ।

स्थानीय समुदायको सक्रिय सहभागिताले चेतनामूलक कार्यक्रम सञ्चालन गरी सुरक्षित व्यवहार अपनाउन र सहकार्य गर्न मद्दत गर्नेछ।

यी सबैको संयुक्त प्रयासबाट मात्र जंगली हात्तीको आक्रमणलाई न्यून गर्दै जैविक विविधता र सहअस्तित्वका पक्षमा सकारात्मक नतीजा हासिल गर्न सम्भव हुनेछ।

लेखक पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ईन्भाइरोमेन्ट एण्ड फोरेस्ट्री, मोरङ्ग

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved