धरान/ काठमाण्डौ र पोखरामामात्र सञ्चालन गरिएको हुदै आएको अनलाइन प्रवेश परीक्षा यस बर्षदेखि धरानमा समेत सञ्चालनमा आएको छ ।
त्रिभुवन विश्व विद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरुमा अध्ययनका लागि आंगिक वा प्राइभेट कलेजहरुमा अनलाइनमार्फत लिँदै आएको प्रवेश परीक्षा अन्तर्गत मार्टस् लेवलको परीक्षा धरानबाट पनि अनलाइनमार्फत लिन थालिएको हो ।
त्रिभुवन विश्वविद्यालयका ५ वटा आंगिक कलेज, १० वटा सम्बन्धित कलेजहरुमा अध्ययन गर्नका लागि प्रवेश परीक्षा पास हुनपर्ने प्रावधान छ । सबैभन्दा पहिलो त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको केन्द्रीय कार्यालयबाट मात्र हुने गर्दथ्यो ।
यसलाई विकेन्द्रित गर्न पोखराबाट पनि सञ्चालनमा ल्याएको थियो तर यस बर्षदेखि भने धरानमा पनि सञ्चालनमा आएको छ ।
पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका प्रमुख इन्जिनियर काजीराम कार्कीले मार्टस् लेवलको प्रवेश परीक्षा कम्प्युटर वेस सिस्टममा सूचना प्रविधिमा आधारित रहेर जाँच काम शुरु गरिसकेको बताए ।
उनले प्रवेश परीक्षाका लागि हार्डवेयर, सफ्टवेयरहरु आइटी कम्प्युटरसँग सम्बन्धित प्रोगाम सञ्चालन गरिसकेको जानकारी दिए ।
प्रविधिको उपयोगमा नेपाल अगाडि बढेपनि त्यसको सदुपयोग गर्न अझै नसकिरहेको अवस्थामा त्रिभुवन विश्व विद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले काठमाण्डौ, पोखरा र धरानबाट शुरु गरे पनि लोकसेवा परीक्षामा भने अझै समस्या रहेको लोकसेवा आयोग कोशी प्रदेशका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईले जानकारी दिए ।
परीक्षार्थी धैरै हुने, एकै प्रकारको प्रश्नपत्र हुने जस्ता समस्याका कारण सुचारु गर्न नसकिए पनि अनलाइन परीक्षाका सम्बन्धमा प्रक्रिया अगाडि बढिरहेको उनको भनाई छ ।
इन्जिनियरिङ क्याम्पस पुलचौक ललितपुरका प्राध्यापक सञ्जिवप्रसाद साहले अहिले नेपालमा काठमाण्डौ, पोखरा र धरानबाट अनलाइन परीक्षा दिन पाउने व्यवस्था गरिए पनि यसलाई हेर्ने कामचाहिँ केन्द्र अर्थात काठमण्डौबाट गरिने गरिएको बताए ।
उनले कम्प्युटरमै टिक लगाउन सकिने भएकोले विना झन्झट प्रवेश परीक्षा दिन पाउने र नतिजा पनि छिटो निकाल्न सकिने भएकोले अनलाइन मार्फत गरिएको प्रवेश परीक्षा लाभदायक भएको बताए ।
गुणस्तरीय शिक्षाका लागि अनलाइन शिक्षा भरपर्दो माध्याम भएपनि नेपालको सन्दर्भमा प्रविधिको विकासले फड्को मारिसक्दा पनि शैक्षिक क्षेत्रमा अन्य देशको तुलनामा प्रविधिको प्रयोग कमै भएको पाइएको छ ।
तर यसलाई विस्तार गर्दै लाने क्रम पनि जारी छ ।
प्राविधिमैत्री शिक्षालाई जोड दिदै आएको सरकारले यस्ता कुरालाई पनि द्रुत गतिमा अगाडि बढाउन सके शैक्षिक प्रणालीमा समेत आमूल परिवर्तन आउनेमा दुई मत छैन ।