धरान । सानदार जितसँगै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौ बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
भुटानको रोयल थिम्पु कलेज (आरटिसी) क्लबलाई ७–० को फराकिलो अन्तरमा पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
चर्च ब्वाइजका समिर तामाङ र अर्माण्ड भिदोङले ह्याट्रिक गरे । समिर तामाङले खेलको २१ औं मिनेट ५६ औ मिनेट र ८५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । त्यस्तै अर्माण्ड भिदोङले खेलको २७ औं मिनेट, ५० औं र ५२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । चर्च ब्वाइजका पदम भट्टराईले खेलको २९ औं मिनेटमा गोल गरे । चर्च ब्वाइजले सुरुवातदेखि नै आरटिसीलाई दबाबमा राखेको थियो । खेलको २१ औं मिनेटमा चर्च ब्वाइजका समिर तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
आरटिसीले सुरुवातमा नै अग्रता बनाउने सुनौलो अवसरमा गोल गर्न सकेन । खेलको १९ औं मिनेटमा आरटिसीका नियन्दा योसेल वान भर्सेस वानमा गोल गर्न चुके । उनले गोल किपरलाई बिट गर्न खोज्दा असफल भए । त्यस पश्चात आरटिसीले खेलमा त्यति राम्रो अवसर सिर्जना गर्न सकेन । आरटिसीले पहिलो खेलमा राष्ट्रिय जागृती क्लब इटहरीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै उच्च मनोबलका साथ चर्च ब्वाइज विरुद्ध मैदानमा उत्रिएको थियो ।
चर्च ब्वाइज भने नेपाल पुलिस क्लब विरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका समिर तामाङ घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । भोलीको खेल एनआरटी क्लब काठमाडौ र युकेएफसी भारतबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।
माघ १९ गतेदेखि चलेको प्रतियोगिता २६ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितालाई गोर्खा ब्रुअरी प्रालिले मुख्य प्रायोजन गरेको छ ।