धरान/ लिम्बुहरुको संस्कृति झल्किने नाच धान नाच पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न नसक्दा लोप भएर जाने हो भन्ने चिन्ता लिम्बु जातिका अग्रजहरुले व्यक्त गर्न थालेका छन् ।
लिम्बुहरुले यो नाच विगतमा मेला, उत्सव तथा लिम्बुहरुको मौलिक चाड पर्वमा नाच्ने चलन भए पनि अहिले यो नाच उनीहरुले मनाउदै आएको उद्यौली तथा उभौलीको अवसरमा आयोजना गरिने चासोक तङ्नाममात्र देख्न र हेर्न पाइन थालेको छ ।
विगतमा पहाडी तथा हिमाली भेगमा बसोबास गर्ने लिम्बुहरुले मेला तथा उत्सवका समयमा सात दिन सात रात धान नाच्ने प्रचलन रहेको थियो । यसरी रातभरि धान नाच्दा उनीहरुको पालम (गीत) सँगै केटा र केटी हात समातेर धान नाच्ने चलन थियो ।
यसरी धान नाच्दा उनीहरुले घरबाटै खाना (चाम्रे भात) पकाएर ल्याउने गर्दथे । त्यही भात खाएर उनीहरु रातभरि धान नाच्ने गर्दथे । धान नाचकै कारण लिम्बु जातिका युवा तथा युवतीमा माया प्रिति समेत बस्ने गर्दथ्यो र विवाह समेत हुने गर्दथ्यो ।
उनीहरुले धान नाच्दा त्यो बेला आफ्नै भाषा, लिपीमा हाक्पारे, पालाम, ख्याली, यालाङ, साम्लो गीतको प्रयोग गर्ने गर्दथे ।
तर अहिलेको पुस्ताले यो कुरा विर्सदै गएकोप्रति लिम्बु जातिका अग्रजहरु चिन्तित बन्न थालेका छन् ।
पछिल्लो पुस्तालाई धान नाच सम्बन्धी ज्ञान नभएकै कारण धरान १५ मा प्रत्येक बर्ष लाग्ने चासोक तङनामका समयमा लाग्ने मेलामा सामुहिक धान नाच्न गरिएको छ ।
धान थन्काउने बेलामा चाराहरु आएर खाइदिने भएकोले ‘हाहा’ गरेर धपाउनै प्रचलनसँगै विस्तारै धान नाच शुरु भएको लिम्बु जातिका अग्रजहरुले बताएका छन् । यो धाननाच प्रकृतिसँग जोडिएको मोरङ केराबारीका सरनबहादुर लिम्बु बताउछन् ।
बसाई सराई र विदेसिने युवाहरुको संख्या बढ्दै गएपछि अहिले युवा पुस्तामा धान नाच सम्बन्धी ज्ञान नै नभएपछि अहिले आफ्नो संस्कृतिलाई जीवन्तता राख्न धान नाच्न थालेका छन् ।
युवा पुस्ताले भने आफूहरु लिम्बु जाति भए पनि यो जातिमा प्रयोग गरिने सांस्कृतिक बाजा च्याब्रुङ र धान नाचका विषयमा केही ज्ञान नभएको बताउछन् । धरान १५ का भरत लिम्बुले आफ्नो जातिको पहिचानलाई जीवन्त राख्न लिम्बु भाषा, लिपी, संस्कृतिको जगर्ना आवश्यक रहेको बताउदै अहिले युवा पुस्ताले समेत धान नाच सिक्न थालेको बताए ।
उनले पुस्तौदेखि नाचिदै आएको धान नाचलाई संरक्षण गर्ने हो भने अग्रज ज्येष्ठ नागरिकलाई पछयाउन नसके यो नाच लोप भएर जाने बताए ।
अहिलेका पुस्ता सानैदेखि बोर्डिङ्ग पढ्ने, सबैले अंग्रेजी भाषामा जोड दिने गर्दा लिम्बु भाषा बोल्न छाडिएको छ, अब प्रत्येक लिम्बुको घरमा लिम्बु भाषा र लिपीको प्रयोग गर्न अभियान नै चाल्नुपर्ने आवश्यकताको महसुस लिम्बु जातिका सबैलै महसुस गर्न थालेका छन् ।
विगतमा हरेक मेला, उत्सव तथा खुशियालीमा नाचिने लिम्बुहरुको धान नाच मौसमी बन्दै गएको छ ।
यसतर्फ लिम्बु जातिका अग्रज, युवा पुस्ता गम्भीर नहुने हो भने धान नाच लोप भएर नजाला भन्न सकिन्न । संस्कृति बचाउन सबै एकजुट भएर लाग्न जरुरी छ ।