इलाम/ ओएसीस क्लब इलामको आयोजनामा आगामी माघ पाँच गतेदेखि इलाममा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो महिला गोल्ड कप २०८१ हुने भएको छ ।
ठुलो टुँडिखेलमा माघ पाँच देखि १२ गते सम्म हुने प्रतियोगितामा नेपाल र भारतका टिम सहभागी हुने आयोजकले जनाएको छ । नेपाल र भारत सहितका आठ टिम सहभागी रहने प्रतियोगितामा नेपालका ए डिभिजन फुटबल क्लब उतार्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपालका विभागीय टिम एपिएफ, त्रिभुवन आर्मी क्लब, पुलिस, ओएसीस फुटबल क्लब (आयोजक), गढीमाई एपसी धनगढी, बागमती फुटबल क्लब छन् भने भारतको मानेभञ्ज्याङ फुटबल क्लब र सी एप सी फुटबल क्लब भारत, र गरी आठ टिमको सहभागिता रहने आयोजकको भनाई छ ।
आयोजकले राष्ट्रिय टिमकी खेलाडी एन्जिलाको कप्तानीमा खेलाडी उतार्ने तयारी रहेको जनाएको छ ।
उनी खेलका लागि विदेश नगएको खण्डमा उनको कप्तानीमा टिम बनाउने जनाएको हो । प्रतियोगिताको विजेता टिमले चार लाख र उपविजेता टिमले नगद दुई लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
नेपाली महिला फुटबल खेलाडीले अहिले जुन स्थान हासिल गरेका छन् त्यसलाई जीवन्त राख्न र नयाँ खेलाडी उत्पादनमा प्रोत्साहनका लागि पनि महिला गोल्ड कप आयोजना गरेको आयोजकले जनाएको छ ।
ओएसीस क्लब इलामका अध्यक्ष ध्रुव राईका अनुसार यो फुटबल आयोजकको मात्रै नभई जिल्लाका सबैको रहेको र यो सम्पन्न गराउन सबैको सहयोग रहने अपेक्षा राखेको बताए ।
उनले पुरुषको तुलनामा महिला फुटबल प्रतियोगिता अत्यन्तै कम हुने भएको कारण पनि इलाममा हुने यो आयोजनाले ए डिभिजनका टिम उतार्ने जनाएको हो ।
प्रतियोगिता सम्पन्न गराउनका लागि ५१ लख ५० हजार रुपैयाँ लाग्ने अनुमान रहेको र उक्त रकम सहयोगी हातहरूबाट सङ्कलन हुने अपेक्षा रहेको ओए सीस क्लब इलामका सचिव रोशन राईले बताए ।
उनका अनुसार सहयोगी व्यक्तित्व र विभिन्न सङ्घ संस्थाको सहयोगमा रकम सङ्कलन गर्ने र उक्त लागतमा खेल सम्पन्न गराउन सक्छौ भन्ने योजना रहेको बताए ।
कोसी प्रदेशका उपमहासचिव पूर्ण फत्रले पहिले महिला फुटबल प्रतियोगिता नहुँदा महिला खेलाडी उत्पादन हुन सकेका थिएनन् ।
पछिल्लो समय स्थानीय तहले उपमेयर कप सञ्चालनले पनि महिला खेलाडी उत्पादनमा प्रोत्साहन गरेको र अब हुन लागेको महिला फुटबलले महिला खेलाडी उत्पादनमा प्रोत्साहन हुने र स्थानीय सरकारले पनि महिला फुटबलमा लगानी गर्नुपर्छ भन्ने बोध गराउने बताए ।