धरान/आज राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको १४० औं जन्म जयन्ती दिवस । कोशी प्रदेश सरकारले जयन्तीको अवसरमा सार्वजनिक विदा दिएको छ भने संघीय सरकारले भने किराँत समुदायको लागि भनेर विदा दिएको छ ।
तर विभुती महागुर फाल्गुनन्दका अभियान्ताहरुले भने सरकारले वि.सं २०६६ सालमा महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभुती भनेर घोषणा गरेपनि व्यबहारतह राष्ट्रिय विभुती भनेर स्वीकार गरि नसकेको अवस्था रहेको ‘राष्ट्रिय विभुती फाल्गुनन्द दर्शन’ दुखेसो गरेका छन् ।
हरेक बर्ष कार्तिक २५ गते राष्ट्रिय विभुती फाल्गुनन्दको राष्ट्रिय स्तरमा जन्म जयन्ती मनाउने गरिए छ तर पनि सरकारले भने विभेद गर्दै आएको उनीहरुले आरोप लगाएका छन् ।
अभियान्ता डम्बर कुमार तम्बापोले संघीय सरकारले किराँत समुदायको लागि मात्रै भनेर विदा दिने गरेको छ,प्रेम र अहिंसाका अनुयायी प्रतीक रुपमा राष्ट्रिय रुपमा नै स्वीकार गरि सकेको अवस्थामा पुरै राष्ट्रिय विदा किन दिन सकेन,यहाँनेर नै बिभेद
गरिएको छ, हाम्रो तर्फबाट सरकारलाई झक्झाई नै रहेका छौं ।तर सरकारले अहिले सम्म सुनुवाई भने गर्न सकेको छैन,दुःख लाग्छ,सरकारले सवैको विभुती भनेर घोषणा गरेर पनि राष्ट्रिय रुपमा स्वीकार गर्न नसकेको भन्ने हाम्रो ठम्याई छ, आशा छ,चाँडै सरकारको चेत आउने नै छ।
’प्रदेश सरकारले भने कार्तिक २५ गते महागुरु राष्ट्रिय विभुती फाल्गुनन्द जन्म जयन्ती भनेर सार्वजनिक विदा भने दिदैं आएको छ,तर समग्र संघीय सरकारले पनि राष्ट्रिय रुपमा नै सार्वजनिक विदा दिनु पर्छ भन्ने माग रहेको अभियान्ता तुम्बापोले बताए ।
राष्ट्रिय विभुती फाल्गुनन्द केबल किँरात समुदायको मात्रै नभई साझा सम्पती हो,उहाँले प्रतिपादन गरेको दर्शन र वाणीहरु मानव जीवनको निम्ति अपरिहार्य रहेको छ ।
त्यसैले उहाँ सवैको हो ।समग्रमा उहाँको दर्शन ‘सत कर्म,सत मार्ग,सत आहार र सत विचार’ प्रमुख भएकाले राष्ट्रिय विभुती फाल्गुनन्द साझा विभुती हो र राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा उहाँको दर्शनलाई स्वीकार गरि सकेको अवस्था भएकाले पनि अब निश्चित एउटा समुदायको मात्रै नभई सबैको विभुती बनाउनु पर्छ भन्ने नै माग रहेको तुम्बापोको भनाई छ ।
पुर्वी नेपालका पहाडी जिल्लामा बसोबास गर्ने प्रकृतिप्रेमी किराँत समुदायलाई विकासको मूलधारमा ल्याउन, सामाजिक, आर्थिक र साँस्कृतिक रुपमा रुपान्तरण गरि चेतना स्तर उकास्न फाल्गुनन्दको विशेष भूमिका रहेको छ ।
महागुरु फाल्गुनन्दले समाज सुधारका निम्ति वि. सं. १९८८ वैशाख २४ गते स्थापना गरेको ’सत्य धर्म मुचुल्का’ को नीति विश्वभरीका समुदायले अनुसरण गर्दै आएका छन् ।नेपालमा मात्र होइन,अमेरिका,बेलायत,जापान,अष्ट्रेलिया,भुटान र भारत लगायत देश विदेशमा अनुयायीहरुले कार्तिक २५ जन्म जयन्ती धुमधामले मनाउने गर्दछन् ।
रुढीबादी परम्पराबाट बाहिर ल्याउन पनि गुरु फाल्गुनन्दको ठूलो भूमिका छ ।उनको सम्मान स्वरुप पाँचथर जिल्लामा एक गाउँपालिकको नाम फाल्गुनन्द गाउँपालिका राखिएको छ ।झापा जिल्लाको शान्तिनगरमा पूर्णकदको प्रतिमा पाइन्छ ।दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडकमार्गलाई पनि नेपाल सरकारले फाल्गुनन्द राजमार्ग नामाकरण गरेको छ ।त्यसै गरि राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको तस्वीर अंकित नेपाल सरकारले हुलाक टिकट प्रकाशन गरेको छ ।
उनको जन्म वि.सं १९४२ साल कार्तिक २५ गते साविक इलाम जिल्लाको इभाङ ५ चुक्चिनाम्बामा पिता जगनबाज लिम्बु र आमा हंसमती लिम्बुका साँहिला छोराका रुपमा जन्मिए ।उनी जन्मिएपछि न्वारनमा नरध्वज लिङ्देन नाम राखिएको थियो ।
उनी सानै बाल्यकाल छँदा सिकिस्त बिरामी परे । पिता जगनबाजले फलामका चुरा बनाएर हातमा लगाइदिए र उनको नाम फलामसिंह राखे ।पछि विराम पनि सन्चो हुँदै गएर यौवन अवस्थामा बेलायती सेनामा भर्ती हुन पुगे ।
त्यहाँ बेलायती फौजमा फलामसिंहको नाम परिवर्तन गी उनको नाम फाल्गुनन्द रहन गएको हो र आज तिनै फलामसिंह हुन,जो राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द भएका छन् । फाल्गुनन्दको पूरा नाम चाहिँ फाल्गुनन्द लिङ्देन हो ।
सेनामा रहँदा पनि साँझ विहान पूजापाठमा लीन रहने भएकाले सहकर्मीहरुले ध्यानी योगी, तपस्वी लगायतका उपनामले दिएका थिए ।
लडाइँबाट विश्वमा शान्ति स्थापना नहुने निष्कर्ष निकालेर गुरु फाल्गुनन्दले बेलायती सेनाको जागिरबाट राजीनामा दिएर आफ्नै जन्म भुमि इलाममा आएका थिए ।उनको निधन वि.सं २००५ सालमा भएको हो भने निधनपछि नै जन्म जयन्ती मनाउन थालिएको अभियान्ता तुम्बापोले बताएका छन् ।