आज लक्ष्मी पूजा,लक्ष्मी जयन्ती र कुकुर तिहार

  • कार्तिक १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रगंको पूरापूरी ओभानो नभइसकेको आँगन,

कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरुले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्रा घुसारीएका टेकोहरू, आँगनमा मिठो मिठो आउने सेलरोटी, अर्सा अनि अर्नसाको वासना ।

प्याट्ट पुट्ट गरेर पड्किरहेका पटाका, झिरझिर गरिरहेको छुरछुरी (झिरझिरे), आकाश छुँला जस्तो गरि उज्यालोको फोहोरा छर्ने फूलझरी लगायतका रौनकहरु आजको दिनको विशिष्टता हो ।

आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गरिन्छ ।

घरमा भएका सम्पूर्ण द्रब्य, गरगहना अनि श्री–सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ ।

केराका खाँबाहरु अर्थात थम्बाहरुलाई वैदिक सनातन हिन्दु संस्करमा अत्यन्त महत्वपूर्णरुपमा लिइन्छ ।

विशेषगरि विवाह, व्रतवन्ध, पूराण या अन्य शुभकार्यमा अनिवार्यजसो केराका एकजोर खम्बाहरुलाई मुलद्वारमा राख्ने गरिन्छ ।

यि द्वारहरुबाट बर्षै भरि खुशी अनि उत्साहको प्रवेश होस् । उर्जावान तिहारको उज्यालो शुभकामना !

“भैलेनी आयौ आँगन, गुन्यू चोलो माँगन्

हे औँशीको बारो, गाईतिहारो भैलो....“

टोलछिमेकका चेलीबेटीहरु आजको साँझ मिठो भाकामा गीत गाउँदै भैलो खेल्न आउँनेछन्, यसरी भैलो खेल्न आएकाहरुले गाउने परम्परागत गीत नै भैलेनी हो । अर्कोतर्फ सेलरोटीको दाउन हाल्न भ्याईनभ्याई हुनसक्छ ।

अर्सा, अर्नसा अनि पत्रे मौलिक स्वाद लिन पाइने यो पर्व तिहारको आज तेश्रो दिन अर्थात गाईतिहार हो । औंशीको निस्पट्ट अँध्यारोमा लहरै बालिएका बत्तिका प्रकाशहरु, आजको दिन घर अनि टोललाई दुलही झै सिंगारिएको हुन्छ ।

दलान, पीढि, अँगेनो, मुलखाँबो लगायत हरेक झ्याल, ढोकाहरुमा आज बत्ति बालिन्छ, मुख्य प्रवेशद्वारमा सयपत्री फूलका मालाहरु राखिनुको साथै विभिन्न प्रकारका झिलमिलि विद्यूतीय बत्तिहरु पनि प्रयोग गर्ने चलन बढ्दै गएको छ ।

यस्ता बत्तिहरुको झिलमिलि प्रकाशभित्रको घर अनि टोल आज वास्तवमै अद्भूत देखिन्छ ।

आजको दिन बिहानैबाट गाइलाई पूजाआजा गरेर, लक्ष्मीका अवतार ’गौ माता’को सेवा गरिन्छ । वैदिक सनातन हिन्दु संस्कार अनि सनातन धर्ममा गाइको स्थान एकदमै उच्च छ ।

हिन्दु धर्मावलम्वीहरुले आमाको स्थानमा अर्थात् मातृ रुपमा हेर्ने गाइका हरेक कुराहरु पूजनयोग्य मानिन्छ ।

कुनै चोखोनितो काम गर्दा यीनै गौमाताको गौंत अभिशेष सेचन तथा सेवन गरी गर्ने गरिन्छ ।

पारम्परीक नेपाली माटोका घरहरू एकाविहानै गाइको गोबर र माटो मिसाएर दैलो, चूल्होलाई लिप्ने चलन छ । गाइको दूधको महिमा त अपरम्पारै छ ।

आजको साँझ विभिन्न रङ्गहरु प्रयोगगर्दै आँगनीमा विभिन्न आकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । गोलो, थ्याप्चो, चारकुने, त्रिभूजाकार स्वरूपमा तयार पारिन्छ ।

अर्कोतर्फ आजको दिन राती लक्ष्मी भगवान पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ, त्यसैकारणले आज घर अगाडीको तुलसी मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाईलारुपी रङ्गीन डोबहरुका छाप घरका सम्पूर्ण कोठाहरुमा लगिन्छ, यीनै पाईलाका छाप अनुरुप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वाश पनि छ ।

रङ्गहरु, बत्तिहरु अनि पर्विय उल्लासले गर्दा आजको दिन सम्पूर्ण ताराहरु आकाशबाट पृथ्वीलोकमा झरेर सबैका आँगनीमा बत्तिकारुपमा बलिरहेका छन् जस्तो लाग्छ ।

यी बत्तिहरुझै हामी सबैको जीवनको आशाको बत्ति कहिल्यै ननिभोस्, भैलेनीका आशीषहरु हामीलाई जस्ताको त्यस्तै लागोस अनि यो उल्लास वर्षभरि कायम रहोस् ।

रङ्गोलीका उमगंहरु हाम्रो आँगनीमा सगौरव रहिरहोस्, सप्तरङ्गी चाड तिहारको मङ्गलमय शुभकामना ।

लक्ष्मी जयन्ती

कालो बादलबाट खसेको

अन्धकारमा भित्र पसेको,

ईश्वर हो कि भिखारी ?

ईश्वर र भिखारीलाई एउटै तराजुमा तुलना गरेर लेखिदिए महाकवी लक्ष्मीप्रसाद देवकोटाले । 

माग्दछ करूणा भाइहरूमा

आई पृथिविवारि,

माग्दछ भिक्षा ईश्वर मेरो

आँगनको एक भिखारी ?

समाजको छर्लगं चित्रलाई वडो चित्तोकर्षक ढगंले पस्कने महाकवीका कृती अनि अन्तराष्ट्रिय लेखकहरु संगै अब्बल ढङ्गले पौंठेजोरी खेल्न सक्ने उनका कृतीहरुकै कारणले गर्दा होला देवकोटालाई कतिले ’जियोग्राफिक मिस्टेक’ भनेंर समेत चित्रण गरेका छन् ।

स्वर्गमूमि नेपाल अनि नेपालको साहित्य रसका हिरा कृतीका सर्जक देवकोटा सबै नेपाली हृदयमा सदैव चम्किला तारा बनेर बिद्यमान छन् ।

आजको दिन नेपाली साहित्यकालागि अत्यन्त विशेष दिन हो ।

आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मीपूजाकै दिन महाकवी लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतिको प्रसादका रूपमा जन्म भएको हो ।

नेपाली साहित्य अनि वाङ्गमयमा महाकवी देवकोटाको योगदान उल्लेखनिय छ । वहाँका अमर कृतीहरुः मुना–मदन, कुञ्जीनि, शाकुन्तलजस्ता कृतीहरुले आजसम्म पनि नेपाली साहित्यको शोभा बढाइरहेका छन् ।

क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन

मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन“

मुनामदनको यी श्लोक उतिबेला पनि नेपाली समाजमा समानता र विभेद विरोधी समाजिक न्यायको विगूल स्वरूप महाकवी छुवाछुत तथा अनेक जातजातिका सवालमा समान धारणा राख्दथे भन्ने स्पष्ट पार्छ, उतिबेलाको नेपाली समाजकालागि यो एउटा ठूलो क्रान्ति नै हुनुपर्छ ।

शायद यहि कारणले गर्दा होला उनको लेखनको चर्चा विभिन्न अन्तराष्ट्रिय लेखकहरुले पनि दिलखोलेर गरेका छन् ।

तिन महिनामा शाकुन्तल काव्य लेख्न सक्ने, १० दिनमा सुलोचना लेखेर भ्याउने र एक दिनमा कुञ्जिनी लेखेर भ्याइदिने देवकोटा उनै हाम्रा महाकवी लक्ष्मीप्रसाद देवकोटाको आजकै दिन अर्थात लक्ष्मीपूजा कै दिन जन्म भएको हो ।

“के नेपाल सानो छ र!“ भन्ने महाकवी लक्ष्मीप्रसाद देवकोटाको निबन्ध त विधालय पाठ्यक्रममै पनि हामीमध्ये धेरैले पढेका छौं ।

निवन्ध स्वरुपमा अझ प्रखर र भरिला अभिब्यक्तिहरु दिनसक्ने महाकवीले सत्र वर्षको उमेरमैं भारतको पटनाबाट म्याट्रिक पास गरेर त्रिचन्द्र कलेज काठमाण्डौमा कलामा स्नात्कोत्तर अध्ययन गर्नुभएको हो ।

वहाँका मुनामदन, वनकुसुम, प्रमिथस लगायतका कृतीहरु अनि भिखारी, गाईनेको गीत, पागल, पुलती लगायतका कवितासंग्रहहरु नेपाली साहित्य अनुरागीकालागि सृजनाको कोशेढुङ्गा साबित भएको छ ।

वहाँका कृतीमा वेदना र रसिकताको अद्भुत मिश्रण सहितको एउटा सम्मोहन पाइन्छ ।

भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु ।’

साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए ।

देवकोटाका जिवनका बिभिन्न घटनाक्रमहरु अत्यन्त प्रसिद्ध र अचम्म लाग्दा पनि छन् ।

बिद्यालय जिवनमा आफूले लेखेका कविताहरु साथीहरुलाई सुनाँउदा उनिहरुले त्यो कविता देवकोटाले ने लेखेका हुन भनेंर पत्याउथेनन । शुरुवातकालिन दिनहरुमा कवी शिरोमणी लेखनाथ पौड्यालका कृतीहरुबाट प्रेरित देवकोटा पछि गएर पश्चिमी सर्जकहरु वर्डसवर्थ र सेलीका अंग्रेजी सृजनाहरुलाई पनि पढ्न थाले ।

पढाई का हिसाबमा देवकोटाले आईएस्सी त्रिचन्द्र कलेज वाट गरेका हुन् भनें बिए बिएल चाँही पटना विश्वबिद्यालयबाट गरेका हुन् ।

बर्खामा पानी पर्दा छाताका कारणले कार्यालय ढिला पुगेका देवकोटाले एकदिनभरि नै लगातार छाताका बिषयमा भाषण गरिदिएका थिए ।

दिनै भरि एउटा उदेक लाग्दो विषयमा भएपनि आकर्षक शब्दहरुको माला र वहूआयाम केलाउनसक्ने देवकोटाको कलम र मस्तिष्कमा वास्तवमै लक्ष्मी र सरस्वतीका अवतारकै रुपमा नेपाली बाङ्गमयको प्रगतिकालागि आएका हुन् ।

वर्तमान त्रिभूवन विश्वविद्यालयको ब्यवस्थापन अनि बढोत्तरीकालागि पनि महाकवी आफू शिक्षा मन्त्रीहुँदा गरेका दूरगामी कदमहरु प्रशंसनीय छन् ।

चिताग्नि तापी जल डाल्न फाली

संस्कार आफ्नो सब नै गुमाएँ

म शून्यमा शून्य सरी बिलाएँ

जन्मेँ म यो स्वर्ग विषे पलाएँ

आखीर भै खाक त्यसै बिलाएँ।

वि सं २०१६ सालमा संसारबाट विदा भएका यिनै महाकवीको आजको यो जन्मजयन्तिमा वहाँप्रति श्रद्धासुमन ।

भाषा, साहित्य र हाम्रा मूर्दन्य साहित्यकार तथा श्रष्टाहरू वहाँहरूको सृजनासंगै जिउँदै हुनुहुन्छ र यो पृथ्वी रहुञ्जेल बाँचिरहनुहुनेछ । नेपाली साहित्यको जय होस्, नेपाली भाषा अमर रहोस् ।

कुकुर तिहार

दिपावली अर्थात् उज्यालोले भरिएको खुशियालीयूक्त तिहार, एउटा विशेष उर्जासहितको उमङ्गमय चाड ।

हिँउदका शुरुवाती दिनहरुको प्रतिनिधित्व गर्ने यो पर्व झिलिमिली बत्तिहरुको चाडका रुपमा पनि परिचित छ । पाँचदिनसम्म दैनिक जीव, जीवन र सम्बन्धमिश्रीत वैदिक सनातन नियमित गतिविधि यसको विशेषता हो र यो पाँच दिनलाई यमपञ्चक पनि भनिन्नछ ।

हिजोको दिन कागको पूजा गरियो र मानव सभ्यताको हरेक प्रचिन खोजहरूमा मानव समाजसंग कहिल्यै टाढा नभएको एउटा बफादार र शाहसी जीवको रूपमा परिचित छ आज कुकुरमा समर्पित दिन अर्थात् कुकुरलाई पूजिने दिन ।

वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ ।

कुकर मानव सभ्यता देखिनै मानवसंग अत्यन्त नजिक बफादार जीवमा रहेको छ ।

ऋगवेदमा स्पष्ट रूपमा ’समरा’को बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरुकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ ।

वैदिक सनातन हिन्दू परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतकारुपमा मानिन्छ र मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ ।

महाभारतमा पनि सत्यवादि यूधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदहारण र सत्मार्गको प्रतिनीधिका रुपमा लिइन्छ ।

तन्त्रसाधक निडर भगवान भैरवको वाहन पनि कुकुरनै हो भने चाणक्य नितीमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा उल्लेख गरिएको छ ।

यी त भए शास्त्रका कुरा तर आधुनिक यूगको इतिहासमा पनि सर्वप्रथम पृथ्वीको कक्ष बाहिर परिक्रमा गर्दै अन्तरिक्षमा सन् १९५७ मा लाईका नामक कुकर पुगेको हो ।

त्यसैगरि सन् १९२३ मा जापानको ओडाटेमा जन्मिएको हाछिको नामक कुकुर र उसको मालिकप्रतिको बफादारीताको दृष्टान्तस्वरुप बनाइएको चलचित्र “हाछिको“ आजपनि विश्वभरि उत्तिकै लोकप्रिय छ र उक्त चलचित्र हेर्ने धेरैका आँखा रसाएका छन् ।

आज यिनै कुकुरहरुको पूजा गरिने दिन हो है, आजको दिन कुकुरलाई विधीवतरुपमा पूजा गरी खान दिने मानिसहरुलाई पूण्य प्राप्त हुने जनश्रुती छ । मानव समाज र कुकुरहरुको बलियो र पुरानो सम्बन्ध छ, आज त्यो सहअस्तित्वको अर्चना गरिन्छ ।

आज घरपालुवा मात्र नभई सडकका छाठा कुकुरहरुलाई पनि माला पहिर्याइ, अबिरको टिका लगाई खाना खान दिने गरिन्छ ।

यसरी फूलको माला लगाईदिनाले माला पहिराउने यो विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्व दिएको मानिन्छ यस अर्थमा आज कुकुरहरुप्रति समर्पित दिन हो ।

आजको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिस यमराजको दण्डभोगी हुन्छ भन्ने मान्यता रहिआएको छ । यसर्थ विहान सबेरै उठेर नित्यकर्म र स्नान गरी कुकर पूजा गर्ने चलन छ ।

आज नरके चतुर्दशी पनि र आजको दिन बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदिप दक्षिण फर्काई बाली बगाउनाले मृत्युपछि नर्कको दर्शन गर्नुनपर्ने धार्मिक विश्वास छ ।

यसरी बत्ति बालेर बगाउने कार्यलाई नरके बगाउने भनिन्छ।

आजभोली त कुकुरलाई अझ विशेष रौनक र चाखका साथ देश विदेशमा पाल्ने गरिन्छ ।

कुकुरका विभिन्न विदेशी तथा स्वदेशी नश्लहरु धेरै पैसामा किनबेच हुन्छन् अनि अझ बिकसीत देश, शहरहरुमा कुकुरहरुलाई अत्यन्त शानदार रुपमा घरको अभिन्न सदस्यको झै राख्ने गरिन्छ ।

अर्कोतर्फ अपराध अनुसन्धान अनि सुरक्षाकालागि अवैध अनि विष्फोटक पदार्थहरु पत्ता लगाउन पनि कुकुरहरुको प्रयोग गरिन्छ ।तिहार एउटा उपहार आदान प्रदान गरिने, कथा भनिने, सुनिने, दिदी–भाई, दाजू–बहिनीको अथाह स्नेहको महत्व राख्ने र मानव समाजलाई अन्य जीव, जीवनसंग सहअस्तित्वको बाटोतर्फ अघि बढ्न प्रोत्साहन गर्ने चाड हो ।

साँझमा बालिएका बत्तिहरुले अँध्यारोमाथी उज्यालोको उत्सर्ग, अज्ञानतामाथी ज्ञानको प्रवाह र अविभाजित मानव अस्तित्वको आजम्बरी अनुभूति प्रदान गर्दछ । सनातन धर्म एकदमै पृथक छ र त्यत्तिकै वैज्ञानिक पनि छ ।

यसका संस्कारका आधारहरु, प्रकृती, प्रेम अनि मानवतालाई अत्यन्त विशिष्ट स्थान दिएको अनि हरेक प्रकृतिका सृजनाहरूमा इश्वरत्व अनुरूप व्याख्या गरिएको छ ।

नेपाली समाजमा पनि कुकुरहरु जनावर पालन अनि कृषीकार्यकालागि सदियौँ देखि नजिक छन् ।

चाहे त्यो लेकमा चौरीहरुलाई गोठालो लाउने भोटे कुकुर होस या खाना खाएर चुठ्न निस्कँदा पुच्चछर हल्लाउदै आउने स्थानीय जातका छाडा कुकुरहरु हुन्, हाम्रो घर गोठ अनि वालीनालीको पुस्तैनी रखवालाहरु यिनै हुन् ।

यिनीहरुमा असाधारण सुँघ्नसक्ने क्षमता हुन्छ अनि प्राकृतिक प्रकोप आउनुपूर्वनै यीनिहरुले आफ्नो फरक गतिविधि तथा अस्वभाविक ब्यवहारमार्फत् यी कुराहरुको पूर्वसूचना दिनेगर्दछन् ।

मानव ब्यवहार एउटा ऐनाजस्तै हो, हामीले जस्तो ब्यवहार गर्छौ त्यस्तै प्रतिविम्बस्वरुप ब्यवहार पाँउछौ ।

यस पृथ्वीका हरेक जनावरहरुलाई हाम्रो माया र सदाचारको खाँचो छ र शायद तिहारका यमपञ्चकका अवधिले हामीलाई यहि ज्ञान दिन खोजेको हुनुपर्छ ।

विज्ञानले पनि पारिस्थितिकी तन्त्र (भ्अय–क्थकतझ) का रुपमा हरेक प्राणिहरुको अस्तित्व एकअर्कासँग सम्बन्धित देखाएको छ ।

माया दिऔ, माया बाँडौं अनि माया पाँऔं, सबैको मङ्गल होस्, जीव र मानव जीवनबिचको सुमधूर सम्बन्धको यो यात्रा जूगौ जूग चलिरहोस् । शुभकामना !

-हाम्रो पात्रो

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved