धरान/ धरानमा एकतर्फी बाटो सञ्चालनमा छ । धरानको भानुचौकदेखि लक्ष्मी सडक सवारी साधन जाने र लक्ष्मी चौकबाट पुरानो बजार, देशी लाइन हुदै भानुचौकसम्म आउने रुट कायम गरिएको छ ।
एकतर्फी (वान वे) सञ्चालनपछि धरानमा केही सहजता त भयो तर सडकमा खाल्डाखुल्डी पुर्ने कामलाईचाहि वाने सञ्चालन गर्नेले ध्यान नदिँदा दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको छ ।
झण्डै एक बर्ष हुन लाग्यो धरानमा एकतर्फी बाटो सञ्चालन भएको । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी र धरान उपमहानगरपालिकाको संयुक्त प्रयासमा वाने सञ्चालनमा आएको हो ।
वानवे सर्वसाधारण, यातायात सञ्चालन गर्ने चालक सबैलाई सहजता ल्यायो तर सडकमा भएका खाल्डाखुल्डी पुर्ने काममा भने गम्भीरता नदेखाउदा भने दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
धरान ३ का सुमन साह केही दिन अगाडि खाल्डाखुल्डीकै कारण झण्डै दुर्घटनामा परे ।
धरान ३ पुरानो बजारमा भएका खाल्डाखुल्डी जोगाउने क्रममा उनी झण्डै दुर्घटनामा परेका हुन । धरान १ रेडक्रस भवनदेखि धरान ३ माछा भौडीसम्मको झण्डै २ किमी सडकमा जताततै खाल्डाखुल्डी छ ।
रेडक्रसबाट तल झर्ने क्रममा एउटा खाल्डाबाट मोटरसाइकल बचाउन खोज्दा लगत्तै अर्को खाल्डामा मोटरसाइकल परेको थियो । सधै यही ठाउँमा सवारी साधन चलाइरहने भएकोले दुर्घटनाबाट जोगिएको उनको भनाई छ ।
धरानमा पहिलो पटक आउनेहरु जो सडकमा भएका खाल्डाखुल्डीको विषयमा अनवज्ञ छन् उनीहरुका लागि भने यो सडक जोखिम भएको उनको भनाई छ । सुख्खा समयमा भन्दा पनि बर्षाद्को समयमा दुर्घटनाको जोखिम अझ रहेको छ ।
धरान ३ मस्जिद अगाडिकै मिकाइल आलमले वान वे को व्यस्त सडकमा परेका खाल्डाखुल्डी पुर्ने काम सम्म नगर्दा दिनप्रतिदिन दुर्घटनाको जोखिम बढेको बताए । उनले बर्षाद्का समयमा सवारी चालककलाई अझ धेरै जोखिम हुने बताए ।
त्यसो त धरान उपमहानगरपालिकाले धरान भरि भएका खाल्डाखुल्डी पुर्ने कामलाई १ करोड भन्दा बढी बजेट छुट्याउने गरेको छ । तर त्यो बजेटले कुन खाल्डाखुल्डी पुरिन्छ भन्ने अत्तोपत्तो हुदैन ।
खाल्डाखुल्डीका कारण पेसिन्जर बोकेर हिडेका सवारी साधनलाई अझ जोखिम हुने गरेको छ । खाल्डालाई जोगाउन खोज्दा अर्को सवारी साधन आएर ठोक्किने भएकोले दुर्घटनाको जोखिम हुने सवारी चालक सुमन दाहाल बताउछन ।
उनले सवारी साधन लिएर हिडेपछि खाल्डाखुल्डीका कारण कुन बेला दुर्घटनामा परिने हो कि भन्ने त्रासमा हिड्नुपर्ने बाध्यता भएको बताए ।
यो समस्या धरान ३ को पुरानो बजारको मात्र हैन, धरानमा यस्ता खाल्डाखुल्डी धेरै छन् । धरान ३ को पुरानो बजारको रेडक्रस भवन अगाडिदेखि माछाभौडीसम्ममात्र करिब १ सय भन्दा बढी खाल्डाखुल्डी छन् ।
धरान १५ बगरकोट, श्यामचौक, साम्पाङ चौक लगायत धरानका दर्जनौ स्थानमा रहेका खाल्डाखुल्डी पुर्नेसम्मको काम भएको छैन ।