इटहरी/ नेकपा एमाले केन्द्रीय कार्यसमितिले विभिन्न ठाउँमा इञ्चार्ज तोकेको छ ।
केही दिनअघि बसेको एमाले केन्द्रीय कमिटिको बैठकले विभिन्न प्रदेशसहित, जिल्ला र क्षेत्रमा इञ्चार्ज तोकेको हो ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार कोशी प्रदेशमा शेरधन राईलाई इञ्चार्ज तोकिएको छ । यसैगरी कोशी प्रदेशका विभिन्न जिल्ला र क्षेत्रमा पनि इञ्चार्ज तोकिएको छ ।
सार्वजनिक विज्ञप्तिअुनसार सुनसरी जिल्लामा जगदीश कुशियतलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ । उनी कोशी प्रदेशका पूर्व पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत हुन् । उनी गत निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नं. ४ बाट उम्मेदवारी थिए ।
उनलाई कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतान्तरले पराजित गरेका थिए ।यसैगरी सुनसरी क्षेत्र नं. १ को इञ्चार्जमा मञ्जु भण्डारीलाई जिम्मेवारी दिइएको छ । उनी यसअघि धरान उपमहानगरपालिकाकी उपमेयर थिइन् भने पछिल्लो स्थानीय तहमा भने एमालेबाट मेयरको उम्मेदवार बनाएको थियो । क्षेत्र नं. २ मा लक्ष्मी गौतमलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
उनी इटहरी उपमहानगरपालिकाकी पूर्व उपमेयर हुन् ।यसैगरी सुनसरी क्षेत्र नं. ३ मा भगवती चौधरीलाई जिम्मेवारी दिइएको छ । उनी नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई तेस्रोपटकमा पराजित गरी पहिलोपटक संसदमा ‘इन्ट्री’ मारेकी नेत्री हुन् ।
उनी दुईपटकसम्म महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छन् ।
यसैगरी क्षेत्र नं. ४ मा भने तैयव हुसेन मियाँले इञ्चार्जको जिम्मेवारी पाएका छन् ।
उता, मोरङमा भने जीवन घिमिरेलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
उनी कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री हुन् । यसैगरी मोरङ क्षेत्र नं. १ र २ मा युवराज बास्कोटाले इञ्चार्जको जिम्मेवारी पाउँदा क्षेत्र नं. ३ र ४ को इञ्जार्जमा नैनकला ओझा, क्षेत्र नं. ५ र ६ मा भने रामलाल साहले इञ्चार्जको जिम्मेवारी पाएका छन् ।
यसैगरी झापामा रोमनाथ ओलीले इञ्चार्जको जिम्मेवारी पाएका छन् । झापा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्लासमेत हो । झापा क्षेत्र नं. १ मा रवीन कोइराला, क्षेत्र नं. २ मा अमृतलाल राजवंशी, क्षेत्र नं. ३ मा हरिबहादुर राजवंशी, क्षेत्र नं. ४ मा गोविन्द थापा र क्षेत्र नं. ५ मा दीपक कार्कीले इञ्चार्जको जिम्मेवारी पाएका छन् ।
उता, इलाममा राम रानाले इञ्चार्जको जिम्मेवारी पाउँदा धनकुटामा राजेन्द्रकुमार राईले जिम्मेवारी पाएका छन् ।
राना कोशी प्रदेशका पूर्व मन्त्री हुन् भने राई संघीय सरकारका पूर्व खानेपानी मन्त्री हुन् । यसैगरी संखुवासभामा तुलसी न्यौपानेले इञ्चार्जको जिम्मेवारी पाएका छन् भने तेह्रथुममा विष्णुमाया विकले जिम्मेवारी पाएकी छन् ।
यसैगरी ओखलढुंगामा यज्ञराज सुनुवारलाई जिम्मेवारी दिइएको छ भने सोलुखुम्बुमा किशोर अधिकारीलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
भोजपुरमा परशुराम अधिकारीले जिम्मेवारी पाउँदा खोटाङमा विशाल भट्टराईलाई इञ्चार्ज तोकिएको छ भने उदयपुरमा मञ्जुकुमारी चौधरीलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
पाँचथरमा आइन्द्रसुन्दर नेम्वाङले जिम्मेवारी पाउँदा ताप्लेजुङमा भने तिलकुमार मेन्याङ्बोले जिम्मेवारी पाएका छन् । एमाले पार्टीको उपाध्यक्षमा भने मोरङका गुरु बरालले जिम्मेवारी पाएसँगै प्रदेश, जिल्ला र क्षेत्रमासमेत इञ्चार्ज तोकिएको हो ।
तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएसँगै उपाध्यक्ष पद रिक्त थियो । रिक्त पदमा मोरङका बराललाई जिम्मेवारी दिइएको हो ।