धरान/ डेंगु सङ्क्रमण फेरी बढ्दो क्रमममा रहेको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्रका अनुसार डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ४८२, कोशी प्रदेशमा ३५० जनामा डेंगु पुष्टि भएको छ ।
त्यसैगरी, गण्डकी प्रदेशमा २१२, लुम्बिनी प्रदेशमा १७१, सुदूरपश्चिममा १५९, मधेश प्रदेशमा ३८ र कर्णली प्रदेशमा २० जनामा डेंगु पुष्टि भएको डा दाहालले जानकारी दिए ।
जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा १५९, झापामा १२० जनामा डेंगु पुष्टि भएको छ ।
देशका ७३ वटा जिल्लाबाट एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्रअन्तर्गका किटजन्य शाखाका प्रमुख डा।गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ४३२ जनामा डेंगु पुष्टि भएको जानकारी दिए ।
इडिसिडीको तथ्याङ्क अनुसार कर्णली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन ।
त्यसैगरी, चितवनमा ८३, मकवानपुरमा ६५, डोटीमा ४९, तनहुँ ४९, सिन्धुपाल्चोकमा ४६, ओखलढुङ्गामा ४६, भोजपुरमा ४३, पाल्पामा ३५ जनामा डेंगु पुष्टि भएको छ । चिकित्सका अनुसार डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो ।
उच्च ज्वरो आउने, शरीरका जोर्नी र मांशपेशीहरु दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्नु, शरीरमा राता बिमिराहरु आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने यसको प्रमखु लक्षण हुन् । लामखुट्टेको टोकाइबाट बच्न पुरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा।दाहालको सुझाव छ ।
दाहाल भन्छन् , ‘‘लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यलय वरपरका पानी जम्ने सबै ठाउँहरु सफा गर्ने, पानी राख्ने भाडाँहरु बेलाबेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्ने ।’’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यो वर्ष डेंगु सङ्क्रमण बढ्न सकने भन्दै सचेत रहन आग्रह गरेका छन् । गत वर्ष ५२ हजार ७९० जनामा डेंगु पुष्टि भएको थियो ।
यसैवीच महामारीको रुप लिंदा र यसको मुख्य लक्षण दुखाइको कडा अनुभव लगभग सबै बिरामीले गर्ने हुँदा दुखाइबाट मुक्ति पाउन सिटामोलको उच्च मागले चरम अभाव हुने संकेत देखिएको छ ।
स्वास्थ्यकमीका अनुसार गर्मी र वर्षातको समयमा ज्वरो र दुखाइ जस्ता लक्षण देखिने संक्रामक रोगहरु व्यापक फैलिने हुँदा पनि सिटामोलको माग ह्वात्तै बढ्ने गर्छ । फलस्वरुप बजारमा सिटामोलको चरम अभाव सिर्जना हुन सक्ने जनाइएको छ ।
डेंगुसँग मिल्दोजुल्दो लक्षणहरु देखिए वा पुष्टि भएमा जथाभावी औषधि आफैंले किनेर खाने गर्नुहुँदैन । चिकित्सकसँग परामर्श गरेर मात्र औषधिको सेवन गर्नु उपयुक्त हुन्छ । जथाभावी औषधि खाँदा त्यसको नकारात्मक प्रभाव देखिने जोखिम हुन्छ ।
डेंगुमा अत्याधिक दुखाइ हुने हुँदा त्यसबाट मुक्त हुन खोज्नु स्वभाविक पनि हो । तर ब्रुफेन, फ्लेक्सन, एस्पिरिन जस्ता पेन किलर औषधिको अत्याधिक प्रयोगले रोगलाई जटिलतातिर लैजान सक्ने सम्भावना बढेर जान्छ ।
सन् २०२२ मा काठमाडौंमा देखिएको डेंगु महामारीमा धेरै बिरामीले सिटामोल नपाएर बाध्य भई ब्रफेन, फ्लेक्सन, एस्पिरिन जस्ता पेन किलेर खानु परेको भनेका थिए ।