धरान/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि लगाइएको प्रतिबन्ध र पार्टी सभापति रवि लामिछानेविरुद्ध देखिएको राजनीतिक प्रतिशोधको विरोधमा धरानमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ।
रास्वपा धरान उपमहानगर समितिको आयोजनामा मङ्गलबार दिउँसो ४ बजेदेखि धरान स्थित भानुचोकमा ‘हस्ताक्षर अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ अभियानको सुरुआत गरिएको हो।
अभियानको नेतृत्व धरान उपमहानगर समितिका संयोजक राम कार्कीले गरेका थिए। कार्यक्रममा सहभागीहरूले हस्ताक्षरमार्फत वर्तमान सत्ता संरचनाको विरोध जनाउँदै रास्वपाको पक्षमा ऐक्यबद्धता प्रकट गरेका थिए।
संयोजक कार्कीले वर्तमान सत्ताले नागरिकको आवाज दबाउने प्रयास गरिरहेको आरोप लगाउँदै भने, “रास्वपामाथिको प्रतिबन्ध तानाशाही सोचको उदाहरण हो। जनताको अधिकारको रक्षा र स्वाधीनताको पक्षमा देशव्यापी रुपमा यो अभियान चलाइएको छ।”
उनले रवि लामिछानेमाथि गरिएको व्यवहार र रास्वपाको गतिविधिमा गरिएको अवरोध सत्ता पक्षको नियोजित चाल भएको आरोपसमेत लगाए।
कार्कीका अनुसार अभियानलाई देशभर विस्तार गरिने र हस्ताक्षरमार्फत सरकार तथा सम्बन्धित निकायसमक्ष जनताको आवाज पुर्याइनेछ।
रास्वपाले यो अभियानलाई केवल पार्टीको मुद्दा नभई नागरिक स्वतन्त्रताको सवालका रूपमा अघि सारेको छ। “यो अभियान लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको संरक्षणको पक्षमा केन्द्रित छ,” कार्कीले स्पष्ट पारे।
पार्टीले देशका विभिन्न जिल्लामा निरन्तरता दिँदै हस्ताक्षर संकलन अभियानलाई थप सशक्त बनाउने जनाएको छ।