इटहरी/ सुनसरीको इटहरीमा फेरी दुई सय ४८ घर भत्किने भएको छ । इटहरीलाई डुबाउनबाट जोगाउन टेँग्राखोला सफाइ गरेको उपमहानगरपालिकाले खेती खोलाको सीमा छुट्टाउने नाप जाँचलाई तीव्रता दिएको छ ।
उपमहानगरद्धारा गठित अध्ययन कार्यदलले खेती खोलाको क्षेत्राधिकार भित्र पर्ने जग्गा र निजी जग्गा छुट्टाउन प्राविधिक जाँचलाई तीव्रता दिएको हो ।
इन्जिनियर, अमिन, सर्भेयर र प्रशासनका कर्मचारी सहितको नाप जाँच टोली एक महिना देखी इटहरी ४ मा रहेको नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरको दक्षिणी क्षेत्र र उत्तरी क्षेत्रमा खटिएका छन् । टेँग्राखोला सफाइको काम अपेक्षाकृत रूपमा सफल भएको दाबी गरेको उपमहानगरपालिकाले सोही शैलीमा खेती खोला भित्र पर्ने अतिक्रमित संरचना भत्काउने र खोला सफाइ गर्ने बताएको छ ।
इटहरीमा कङ्क्रिटका भवनहरूले छोप्दै जाँदा खेती खोला हराउँदै गएको छ । सिमाना हराउँदै गएको खेती खोलाको सीमा खोजी गर्न प्राविधिक टोली अहिले घामपानी नभनी काममा खटिएको छ । अध्ययन समितिको असार ७ गते शुक्रवार सम्मको अध्ययन अनुसार खेती खोलामा दुई सय ४८ घर भत्किनेछन् ।
ती घरहरू खोलाको जग्गामा बनेका छन् । नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर देखी दक्षिण सिचाइको नहर सम्म र उत्तर तर्फ हलगडा सम्म नाप जाँच गर्दाको तथ्याङ्क हो यो ।
यो तथ्याङ्क अझ बढ्ने अध्ययन समितिले जनाएको छ । पृतना हेडक्वाटर देखी दक्षिण सिचाइको नहर सम्म २ सय २० घर भत्किने अवस्थाका छन् । उत्तर तर्फ हलगडा सम्म भने २० घर भत्किने देखिएको छ ।
उत्तर तर्फ नाप जाँच चलिरहेको हुँदा यस तर्फ पनि भत्किने घरको सङ्ख्या अझै धेरै हुन सक्छ । खोलाको क्षेत्राधिकार भित्र साना कच्ची घर देखी ठुला आरसिसी घरहरू पनि छन् । यस्ता घरहरू मध्ये केही घरहरू नक्सा पास भएका घरहरू पनि भएको अध्ययन समितिका संयोजक पुष्पनारायण चौधरीले जानकारी दिए ।
यी क्षेत्रको अध्ययन गर्दा कतिपय ठाउँमा खोला भित्रै घरहरू छन् भने व्यक्तिको जग्गामा खोला बगिरहेको छ ।
यसैवीच इन्जिनियर,सर्भेयर,अमिन सहितको २२ जनाको टोली अहिले खेती खोलाका झाडी पन्छाउँदै खोलाको क्षेत्राधिकार र निजी जग्गा छुट्टाउँदै छन् ।दैनिक जसो घामपानी नभनी प्राविधिक टोलीले खोलाको क्षेत्र र व्यक्तिको निजी जग्गा तथा घर छुट्टाएर चिन्ह लगाउँदै छन् ।
प्राविधिक समितिले २ किसिमले काम गरिरहेको वातावरण शाखाका प्रमुख तथा अध्ययन समितिका संयोजक पुष्प नारायण चौधरीले बताए ।जिल्ला नापी कार्यालयबाट प्राप्त भएको नक्साको आधारमा खोलाको क्षेत्राधिकार जाँच गर्दै छ ।
जसमा खोलाको क्षेत्राधिकार भित्र परेका घरहरूलाई रातो रगंले चिन्ह लगाइएको संयोजक चौधरीले जानकारी दिए ।
अर्को तर्फ प्राविधिक टोलीले हाल बगिरहेको खेती खोलाको आधारमा पनि सँगै जाँच गरिरहेको छ । खोला बगिरहेको खोलाको आधारमा खोला भित्र परेका घरहरूलाई भने पहेँलो रङले चिन्ह लगाइएको छ । एकै पटक दुई वटै तरिकाले नाप जाँच भइरहेको संयोजक चौधरीले जानकारी दिए ।
अहिले सम्म नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर देखी दक्षिण तर्फ सुनसरी मोरङ सिचाई आयोजनाको नहर सम्म नाप जाँच भैसकेको छ । त्यस्तै पृतना हेडक्वाटर देखी उत्तर तर्फ भने हलगडा सम्म नाप जाँच भएको छ । नाप जाँच गर्ने क्रम जारी छ ।
नाप जाँच गरिसकेपछि प्राप्त भएको तथ्याङ्क तथा अध्ययनको निष्कर्ष सहितको प्रतिवेदन उपमहानगरमा बुझाइने वातावरण शाखा प्रमुख पुष्प नारायण चौधरीले जानकारी दिए । यसका लागि अझै १५ देखी २० दिनको समय लाग्ने चौधरीको भनाई छ ।
प्रतिवेदन प्राप्त भएपछि उपमहानगरले गर्ने निर्णय पछि दोस्रो चरणको काम सुरु गर्ने उनले स्पष्ट पारे ।